काठमाडौं- बेलायती अटोमोबाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) नयाँ पिकअप आउने भएको छ। एमजीको लाइफ स्टाइल पिकअप यूनाइन अस्ट्रेलिया पुगेको छ। यो राइट ह्याण्ड ड्राइभमा तयार भएको पिकअप हो।
लाइफ स्टाइल पिकअप सेग्मेनटमा बनेको एमजी यू नाइन राइट ह्यान्ड ड्राइभ अष्ट्रेलियाबाट बिक्री सुरु हुने लागेको हो। एमजीले गएको शुक्रबार यू नाइन पिकअप अष्ट्रेलियाको मेल्वर्न मोटर शोमा देखाएको हो। निक्कै ठूलो आकारको एमजी यू नाइनमा २.५ लिटरको टर्बो डिजेल इन्जिन दिइएको छ।
एमजी यूनाइन पिकअपमा ८ स्पीडको अटोमेटिक गियरबक्स र फोर ह्वील ड्राइभ विशेषता उपलब्ध रहेको छ। अहिले डिजेल इन्जिनमा मात्र उपलब्ध एमजी यू नाइन हाइब्रिड पावरट्रेन अप्सनमा समेत आउने अनुमान गरिएको छ।
एमजी यू नाइनको लम्बाई ५५ सय एमएम, चौडाई १९ सय ९७ एमएम र उचाई १८ सय ६० एमएम छ। यो पिकअपमा ३३ सय एमएम लामो ह्वीलवेस र २ सय २० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। २० इन्चको ह्वील रहेको यो डलब क्याब पिकअपको पेलोड ११ सय किलोग्राम रहेको छ।
एडभान्स कनेक्टिभिटीसहितको ड्यूल डिजिटल डिस्प्ले, टु स्पोक स्टेरिङ ह्वील, जेबीएलको प्रिमियम साउण्ड सिस्टम तथा पावर्ड एन्ड मसाज फ्रन्टसिट क्याविन यो पिकअपमा उपलब्ध रहेको छ। यसमा ३६० डिग्री क्यामेरासहितको एडीएएस विशेषता रहेको छ।
एमजीका गाडी नेपाली बजारमा पनि उपलब्ध रहेको छ। पछिल्लो समय नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढेकाले एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजीको एस फाइभ एमजी फोर कोमेट तथा साइबरस्टार विद्युतीय कार बिक्री गर्दै आएको छ।
पारामान्टले यसअघि ल्याएको एमजी जेडएस ईभी नेपाली बजारमा निक्कै सफल विद्युतीय एसयूभी हो। पछिल्लोपटक यसलाई रिप्लेस गरेर एमजी एस फाइभ नेपाली बजारमा बिक्री भइरहेको छ। एमजी यू नाइन पिकअप नेपाली बजारमा आउने विषयमा भने टुंगो लागेको छैन।