काठमाडौं- नेपालमा बीएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्सटू एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्र्याएको छ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ।
बीएमडब्लूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बीएमडब्लू आईएक्सटू ई-ड्राइभ-२० सार्वजनिक गरेको हो। यस गाडीले अधिकतम १५० किलोवाट/२०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (डब्लूएलटीपी प्रारम्भिक अनुमान अनुसार) रहेको छ।
कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसको मूल्य एक करोड ७९ लाख ९६ हजार रूपैयाँ रहेको छ।
सन्तुलित पावर र शून्य उत्सर्जन
कम्पनीका अनुसार अन्य बीएमडब्लू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्लू आईएक्सटूमा पनि पाँचौँ पुस्ताको बीएमडब्लू ई-ड्राइभ प्रविधि प्रयोग गरिएको छ। यसले २५० एनएम टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ। यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ।
ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई-भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर ऊर्जा प्रदान गर्दछ। यसमा रहेको आधुनिक मोटरले कम ऊर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दुरीसम्म चल्न सक्षम बनाउँछ।

बीएमडब्लू आईएक्सटूमा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन्। यसमा रहेको कम्बाइन्ड चार्जिङ युनिटले १९ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ। छिटो चार्जिङको लागि १३० किलोवाटसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ। स्मार्ट 'थर्मल प्रि-कन्डिसनिङ' र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ।
बीएमडब्लू आईएक्सटूमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन्, जस्तै मोका रडको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २-जोन अटोमेटिक एसी, र १२-स्पिकरको हरमन कार्डन साउन्ड सिस्टम।
डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली
बीएमडब्लू आईएक्सटू को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन्। सुरक्षित यात्राको लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ। साथै ड्राइभ-अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ।
काठमाडौं, तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो-रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल बीएमडब्लू एक्स१, एक्स२, एक्स३, एक्स४, एक्स७, आईएक्स१ (ब्याट्री इलेक्ट्रिक), आईएक्स३ (ब्याट्री इलेक्ट्रिक), फाइभ सिरिज (प्लग-इन हाइब्रिड), एक्स५ (प्लग-इन हाइब्रिड) र सेभेन सिरिजजस्ता मोडलहरू उपलब्ध गराइरहेको छ।
नयाँ बीएमडब्लू आईएक्सटूको आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा बीएमडब्लूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुका साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ।