गलकोट– मानिसको जीवनमा अनेकन घुम्ती आउँछ। कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ। यस्तैगरी बागलुङ नगरपालिका-१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौतारिने बनायो।
वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौं धाउँदाधाउँदै बित्यो। उमेरले ३० पुग्नै थाल्यो। न विदेश सफल भयो, न नेपालमा कुनै रोजगारीको टुङ्गो लाग्यो।
युरोप, अमेरिका जाने त कुनै सोच थिएन उनको। तर साउदी र कतारजस्ता खाडी मुलुकका लागि अन्तर्वार्ता दिँदै उनको आठ वर्ष बितेको पत्तै भएन। काठमाडौं धाउँदाधाउँदै उनको हजारौँ रुपैयाँ खर्च भइसकेको थियो। अन्ततः तिलिजाले ३० वर्षको उमेरमा आएर विदेश नजाने निर्णय लिए। सायद विदेशका लागि पाएको हण्डर र ठक्करले पाठ सिकायो।
उनको निर्णयमा परिवारको पनि साथ, सर्मथन रह्यो। वैदेशिक रोजगारीमा जाने सपना विफल भएपछि नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो। अहिले तिलिजाको दैनिकी फेरिएको छ। सरर्र स्कुटरमा कहिले बागलुङ बजार त कहिले कुश्मा बजारमा तरकारी, अण्डा, कुखुरा बेच्दै आइरहेका छन्।
उनी अहिले ३७ वर्षको भए। ३० वर्षको उमेरमा थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो। अहिले उनी सफल किसानका रूपमा परिचित छन्। बागलुङ-१० भकुण्डेस्थित कालीगण्डकी किनारामा रहेको दब्ल्याङ बगरमा तीन रोपनी जग्गा भाडामा लिएर कृषि कर्म गरिरहेका छन्।
सुरुका पाँच वर्ष तरकारी खेतीसँगै ब्रोइलर कुखुरा पाल्दै आएकोमा पछिल्लो समय ब्रोइलर छाडेर अण्डा दिने लेयर्स जातको कुखुरा पाल्दै छन् भने पछिल्लो समय फस्टाउँदै गएको बट्टाई चरा, बङ्गुर र टर्कीसमेत पाल्दै आएका छन्।
‘वैदेशिक रोजगारीमा जान धेरै समय खेर फालिएको रहेछ, सुरुबाटै कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला? जे होस्, अहिले राम्रै कमाइ भइरहेको छ, आफ्नै परिवारको साथमा बसेर कृषि तथा पशुपालनमा रमाइरहेको छु’, उनले भने, ‘अहिले किन विदेश जान खोजे हुँलाजस्तो लाग्छ, मैले सुरुमा ब्रोइलर कुखुरा पालेर व्यवसाय सुरु गरेको भए पनि अहिले बहुआयामिक बनाउँदै लगेको छु, बेमौसमी गोलभेँडा मेरो फार्मको मुख्य आम्दानीको स्रोत हो भने अण्डा, टर्की, बट्टाईपालनसमेत गर्दै आएको छु, अहिले आएर बङ्गुरपालनसमेत सुरु गरेको छु।’
उनको कृषि तथा पशुपालनमा श्रीमती लक्ष्मी तिलिजाले समेत सघाउँदै आएकी छिन्। उनको फार्ममा अहिले १०० अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, ६ टर्की चरा र १४ बङ्गुर रहेका छन् भने दुई रोपनी क्षेत्रफलमा तरकारी खेती दुईवटा आधुनिक टनेल रहेको छ।
‘तीन रोपनी जग्गाको भाडा वार्षिक ३५ हजार रुपैयाँ तिर्दै आएका छौँ, फार्म आफैले विस्तार गरेका हौँ, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन’, लक्ष्मीले भनिन्, ‘आफ्नो खायो, आफ्नै काम गर्यो, आनन्दको जीवन बिताउन पाइयो, अहिले गोलभेँडा गरेर दुई आधुनिक प्लाष्टिक टनेल खाली गर्ने अवस्थामा पुगेका छौँ, वार्षिक दश लाख रुपैयाँको कारोबार गरिएकै हुन्छौँ’, तिलिजा दम्पतीले लक्ष्मी कृषि तथा पोल्टी फार्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका छन्। उनीहरुले फार्म सञ्चालनमा रोगव्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो गरे।
कृषि ज्ञान केन्द्रले एक लाख ५० हजार रुपैयाँ अनुदान दिइसकेको बताउँदै थापा दम्पतीले बेलाबेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र टर्कीमा रोगको प्रकोप आएको बताए। ‘टर्कीपालनमा अलि समस्या रहेछ, टर्कीलाई फरक खालको रोग लाग्दोरहेछ, यो अलि बुझिएन, ५० टर्की पाल्दै आएकामा अहिले छ वटामा सीमित छ, केही टर्की रोगका कारण मरेका छन्’, दुर्गा भन्छन्, ‘विदेश जाने सपना त देखियो, विदेश देख्न पाइएन तर साथीभाइको सुख दुःख सुनिएकै छ, अहिले नेपालमै केही गर्न थालेपछि धेरै सन्तुष्टि मिलेको छ, अब बागलुङमा बङ्गुरको मासुको अत्यधिक माग भएकाले बङ्गुरफार्म विस्तारमा लागिरहेको छु, अहिलेसम्म करिब १५ लाख रुपैयाँको लगानी भइसकेको छ।’
मगर दम्पतीले कृषिमा बिचौलियाको अन्त्य गर्नुपर्छ भन्दै आफैँले उपभोक्तासमक्ष पुर्याउने गरेको बताए। बिचौलियाले सस्तोमा खरिद गरी महङ्गोमा बेच्दा असली किसान र उपभोक्ता दुवै मारमा पर्दै आएकाले स्कुटरमा दैनिक आफूले उत्पादन गरेको अण्डा, मासु, तरकारी आफैले बागलुङ, कुश्मा तथा म्याग्दीको बजारमा पुर्याउने गरेको उनको भनाइ छ । बर्खायाममा दाना ढुवानीमा आफूहरुलाई समस्या भएको भन्दै सडकको सुधार गर्नुपर्ने उनको माग छ। दक्षिण जोड्ने पुलमा बाढीले क्षति पुर्याउँदा दाना ढुवानी नभएका कारण घाँस खुवाएर कुखुरा बचाएको उनको भनाइ छ।
‘किसानले मेहेनत गरेर उब्जाएको तरकारी र पशुजन्य वस्तु बिचौलियाले धेरै नाफा कमाएको आफूले महसुस गरेको थिएँ’, उनले भने, ‘त्यसैले स्कुटर किनेर आफैँ बजार लैजाँदा बढी फाइदा कमाउन सकेको छु, बिचौलियाको अन्त्य गर्न सके आफूजस्ता किसानलाई सहज हुनेछ।’ सरकारले सस्तोमा ऋण सुविधा दिएमा लगानी थप्न निकै सहज हुने उनको भनाइ छ।
भकुण्डेको फेदमा रहेको दब्ल्याङ कृषि कर्मका लागि निकै उर्वरभूमि मानिन्छ। त्यस क्षेत्रमा अन्य स्थानका मानिस आएर व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन्। नेपालमै कृषि गर्ने सोच बनाएका थापा दम्पती लगानी गर्ने स्थान खोज्दै दब्ल्याङ पुगेको बताउँछन्। तिलिजा दम्पतीको मेहेनत एउटा उदाहरण मात्रै हो। तर सुरुमै विदेशमोह त्यागेर व्यवसायमा लागको भए अझै सफलता प्राप्त गर्न सकिन्थ्यो भन्ने उनको भनाइ छ।
दब्ल्याङमा थापा दम्पती जस्ता १० जना कृषकले व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन्। दब्ल्याङकै सरिता थापाले बङ्गुर तथा कुखुरापालन गर्दै आएका छन् भने भर्खरै भकुण्डेका बबिन थापाले माछा र बङ्गुरपालन र धम्जाका दुर्गा श्रीष र अनिस श्रीष दाजुभाइले बङ्गुरपालन सुरु गरेका छन्। उक्त स्थान कृषिको हब बन्दै आएको छ। कालीगण्डकी किनारामा रहेको यस क्षेत्रमा रहेको हावापानी सुहाउँदो कुखुरा, माछा तथा बङ्गुरपालन निकै फस्टाउँदै आएको किसान बताउँछन्। रासस