शुक्रबार, जेठ ४ गते २०८१    
images
images

पक्की पुलले सहज बन्दै बेनी-जोमसोम सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २९ २०७८
images
images
पक्की पुलले सहज बन्दै बेनी-जोमसोम सडक

यसअघि महभिरस्थित अन्नपूर्ण-७ र रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ।

images
images

बेनी- कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन्।

images
images
images

केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ। कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी-जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ।

images

सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखगरेबगरस्थित वडा नं २ र ६ को सिमानामा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर ७० मिटर लामो ११ मिटर चौडाइ भएको पक्की पुल निर्माण भएको छ।

images
images

भ्याटसहित ८ करोड २४ लाखमा ठेक्का लिएको हिम-सगरमाथा-डाँफे-बज्रगुरु जेभीले कोरोना महामारीलगायतका कारण समयसीमाभन्दा केही थप समय लिएर पुल निर्माण सम्पन्न गरेको विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले जानकारी दिए। कोरोना महामारी, बाढीपहिरालगायत कारण निर्धारित समयमा सम्पन्न नभएपछि गत वर्ष पुस मसान्त २०७८ सम्म सम्पन्न गर्ने गरी एक वर्षको म्याद थप गरिएको थियो।

images
images

यसअघि महभिरस्थित अन्नपूर्ण-७ र रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ। ८० मिटर लामो र ११ मिटर चौडाइ भएको यो मोटरेबल पुल भ्याटसहित ९ करोड ९ लाखमा ठेक्का सम्झौता भएर काम गरिएको विभागले जनाएको छ। गत असोजमा नै काम सम्पन्न गरी हाल पुलमा यातायात सञ्चालन हुँदै आएको छ।

पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम-सगरमाथा-डाँफे-बज्रगुरु जेभीले ठेक्का लिएको थियो। एघार-एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइनसमेत गरी पुल निर्माण गरेको हो।

विसं २०६४ मा मार्ग खुलेको बेनी-जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए। दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बाढी पहिराका कारण निर्माणको समय एक वर्षपछि धकेलिए पनि सरकारले थप गरेको समयसीमाभित्रै पुल निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा नौवटा मोटर चल्ने पुल निर्माण सम्पन्न भएका छन्। एक सय ८६ किलोमिटर दूरीको बेनी-जोमसोम-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत थप १२ वटा पुल निर्माणाधीन रहेको आयोजना प्रमुख जगत् प्रजापतिले जानकारी दिए। उनका अनुसार थप पाँच ठाउँमा पुल निर्माणको लागि प्रस्ताव गरिएको छ।

यी खोलामा बने पुल

आयोजनाअन्तर्गत म्याग्दी खण्डको रघुगङ्गा नदीमा ४० मिटरको पुल निर्माण सम्पन्न भएको छ । यो पुल ६ करोड ८७ लाखमा शर्मा गजुरमुखीले ठेक्का लिएर सम्पन्न गरेको हो। त्यस्तै अन्नपूर्ण गाउँपालिका-३ स्थित दानाको घट्टेखोलामा ५ करोड ८७ लाख लागतमा ४० मिटरको पुल निर्माण भएको छ। मुस्ताङ खण्डमा लेतेखोलामा पुल निर्माण सम्पन्न भएको छ। 

गजुरमुखीले ४० करोड २० लाखमा ठेक्का लिएर पुल निर्माण सम्पन्न गरेको छ। त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा ११५ मिटर लामो मोटरेबल पुल मुक्तिनाथ श्री गीता जेभी कम्पनीले १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गरेको छ। पाण्डाखोलामा ५० मिटरको पुल ४ करोड ३७ लाखमा निर्माण सम्पन्न गरेको छ। कागबेनीमा २५ मिटरको पुल गलुवा रफिना जेभी कम्पनीले पुल निर्माण सम्पन्न गरेको छ।

बेगखोलामा पुल निर्माण सुरु

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ। सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो। विसं २०८० चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते  बिओकेआइ-हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको विभागका इञ्जीनियर रिजालले जानकारी दिए। 

बेलीब्रिजसमेत बाढीले बगाएको बेगखोलामा पुल निर्माण गर्न निर्माण व्यवसायीले नै पुलको डिजाइन आफैँ गर्ने गरी ठेक्का सम्झौतामा भएको छ। बेगखोलामा पुल बगाएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-१, अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीले निरन्तर सास्ती खेप्दै आएका छन्। पुल निर्माणका लागि पटक-पटक ताकेता गरिएको र कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीलाई समेत समयमै काम सक्ने गरी काम अघि बढाउन आग्रह गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए। 

यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित रुप्से झरनामा आएको बाढी र पहिराका कारण निर्माणाधीन पुल बगाएपछि कुन प्रविधिको प्रयोग गरी कस्तो पुल निर्माण गर्ने भन्ने अझै यकिन भएको छैन। रासस


प्रकाशित : शनिबार, माघ २९ २०७८०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend