काठमाडौं- प्रदर्शनीका लागि आयात गरिने सवारी ल्याउने व्यवस्था सहज भएको छ। सरकारले प्रदर्शनीका लागि ल्याइने सवारीसाधन आयात गर्दा सिफारिस वा भन्सार कार्यालयको पूर्वस्वीकृतिबिना नै ल्याउन सकिने व्यवस्था गरेको छ।
यसअघि सम्बन्धित मन्त्रालय वा दूतावासको सिफारिस लिएर वा सम्बन्धित भन्सार कार्यालयलसमेतको अलग्गै स्वीकृति लिएर प्रदर्शनीका लागि धरौटी राखेर निश्चित अवधिका लागि सवारी आयात गर्न पाइने व्यवस्था थियो।
आर्थिक ऐन २०८२ मा भने सिफारिस वा भन्सार कार्यालयको पूर्वस्वीकृति नचाहिने व्यवस्था गरिएको छ। नयाँ आर्थिक ऐनमा प्रदर्शनी मेलामा राखिने सवारी आयात सम्बन्धमा स्पष्ट व्याख्या गरिएको छ। यसले व्यवसायीहरुलाई प्रदर्शनी प्रयोजनका लागि भनेरै धरौटीमा सवारी आयात गर्न सहज हुने भएको छ।
नेपालमा हुने सवारीसम्बन्धी मेलामा विदेशबाट विभिन्न कम्पनीहरुले यहाँ बिक्री सुरु भइनसकेका र भविष्यमा आउने सम्भावना भएका सवारी प्रदर्शनीमा राख्नमात्र ल्याउने गरेका छन्। पछिल्ला वर्षहरुमा यो ट्रेन्ड बढ्दै गइरहेको थियो। यही विषयलाई मध्य नजर गर्दै सरकारले सहजीकरण गरिदिएको हो।
आर्थिक ऐन २०८१ मा कुनै सरकारी निकाय, उद्योग, व्यक्ति, संस्था वा विदेशी नागरिकले व्यापारिक प्रयोजनबाहेक कुनै खास प्रयोजनको लागि फिर्ता लैजाने सर्तमा पैठारी गर्ने वस्तु सम्बन्धित मन्त्रालय वा दूतावासको सिफारिसमा बढीमा तीन महिनासम्मको लागि लगतमा राखि पैठारी गर्न दिन सकिने उल्लेख छ।
त्यसरी सिफारिस नभएको अवस्थामा भन्सार कार्यालयले औचित्य हेरी पछि फिर्ता गर्ने सर्तमा बढीमा एक वर्षको अवधि तोकी लाग्ने कर, महसुल तथा शुल्कबापत नगद धरौटी वा बैंक जमानत लिइ जाँचपास गर्न स्वीकृति दिन सक्नेछ।
त्यसरी तोकिएको अवधिमा वस्तु फिर्ता गरेमा सो वस्तु पैठारी हुँदाका बखत नगद धरौटी वा बैंक जमानतमा राखेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी नगद धरौटी फिर्ता वा बैंक जमानत फुकुवा गरिने जनाइएको छ।
त्यस्तो तोकिएको अवधिमा वस्तु फिर्ता नगरेमा सो वस्तु जफत गरी बैंक जमानत वा नगद धरौटीबाट महसुल बराबरको रकम रावस्वमा दाखिला हुनेछ।
त्यस्तै आर्थिक ऐन २०८२ मा ‘सवारी वा ढुवानीका साधनको प्रदर्शनी मेलामा प्रदर्शनीमा राखि त्यस्तो मेला समाप्त भएको १५ दिनभित्र अनिवार्य फिर्ता लैजाने सर्तमा लाग्ने सम्पूर्ण महसुल नगद धरौटी वा बैंक जमानग राखि नयाँ सवारी तथा ढुवानीका साधनहरु बढीमा ६ महिनासम्मको लागि अस्थायी पैठारी गर्न दिन सकिने उल्लेख छ।
यसरी पैठारी भएको सवारी तथा ढुवानी साधन फिर्ता गरेपछि नगद धरौटी वा बैंक जमानतमा हरेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी बाँकी नगद धरौटी फिर्ता वा बैंक जमानत फुकुवा गरिने उल्लेख छ।
'सो अवधिभित्र फिर्ता नगरेमा सवारी तथा ढुवानी साधन जफत गरी नयद धरौटी वा बैंक जमानतबाट लाग्ने महसुल बराबरको रकम राजस्वमा आम्दानी बाँधिनेछ’ भन्ने व्याख्या गरिएको छ।
यो वर्ष अटोमोबाइल व्यवसायीहरुले नेपालमै दुईवटा अटो शो आयोजना गर्दै छन्।
विगतमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले नाडा अटो शो आयोजना गर्दै आएको थियो। यो वर्ष भने नाडाले भन्दा पहिले नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याचरर्स (नाइमा)ले पनि नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्दै छ। नाइमाले साउन अन्तिम साता र नाडाले भदौ पहिलो साता काठमाडौंको भृकुटीमण्डपमा सवारीसाधनको प्रदर्शनी आयोजना गर्दै छन्। उक्त मेलामा यो वर्ष पनि नयाँ-नयाँ सवारी प्रदर्शनीका लागि राखिने छ।