शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

गण्डकीका पूर्वाधार, ऊर्जा र पर्यटन योजनालाई बजेटमा प्राथमिकता

images
शुक्रबार, जेठ १६ २०८२
images
images
गण्डकीका पूर्वाधार, ऊर्जा र पर्यटन योजनालाई बजेटमा प्राथमिकता

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा गण्डकी प्रदेशका ठूला पूर्वाधार, पर्यटन र ऊर्जा क्षेत्रका महत्त्वपूर्ण योजना समेटिएका छन्।

images
images

गण्डकी- संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा गण्डकी प्रदेशका ठूला पूर्वाधार, पर्यटन र ऊर्जा क्षेत्रका महत्त्वपूर्ण योजना समेटिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै गण्डकीमा भइरहेका तथा अघि बढाइने प्रमुख परियोजनाबारे जानकारी दिए।

images
images
images

बजेटमा पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजना समावेश गरिएको छ। सो कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आठ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा विस्तार गर्दै स्तरोन्नति गरिने भएको छ। सालझण्डी–ढोरपाटन सडक निर्माण कार्यलाई समेत तीव्रता दिइने जनाइएको छ।

images
images

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना बजेटमा समावेश गरिएको छ। वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने र हिमालपारिको जिल्ला मुस्ताङमा उच्च पर्वतीय खेलकुद रंगशाला निर्माण गरिने उल्लेख छ। लामो समयदेखि चर्चा हुँदै आएको ढोरपाटनको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा तय गरी निर्माण कार्य सुरु गरिने जनाइएको छ।

images
images
images

बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारीमा अघि बढाइने र हालसम्म सरकारले गरेको लगानी सेयरमा परिणत गरिने व्यवस्था गरिनेछ। तनहुँको सेती जलविद्युत् आयोजना भने सरकारको पूर्ण लगानीमा निर्माण गरिनेछ। कास्कीको हेम्जाबाट नयाँ पुलसम्मको सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने गन्तव्यस्थलहरूमा पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ। कालीगण्डकीलगायत नदीहरूमा जलविहारजस्ता पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने र मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पदमार्गलगायत संरचना निर्माण गरिने जनाइएको छ।

यी योजनाहरूले गण्डकी प्रदेशमा पूर्वाधार विकास, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण, र ऊर्जा उत्पादनमार्फत आर्थिक गतिविधि सशक्त बनाउन सक्ने सरकारको अपेक्षा छ। तर विगतमा घोषित योजना कार्यान्वयनमा देखिएको ढिलाइका कारण यिनको प्रभावकारितामाथि भने प्रश्न उठ्ने गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend