काठमाडौं- सरकारले निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्न ११ अर्ब २४ करोड रूपैयाँ विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेट पेस गर्दै निर्माण सम्पन्न भएका अस्पताललाई स्थानीय तह र समुदायको सहकार्यमा सञ्चालन गरिने बताए।
गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न १३ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरिएको छ।
यसैगरी, सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार तथा पुनर्स्थापनाका लागि सेवा प्रारम्भ गरिनेछ। फागुनमा नसर्ने रोगको सघन स्क्रिनिङ गर्ने व्यवस्था मिलाइने भएको छ।
आधारभूत स्वास्थ्य सेवा र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएका औषधि आपूर्ति सुनिश्चित गरिने बजेटमा उल्लेख छ।
वितरण गरिएका औषधिको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि दुई अर्ब ६ करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए। रासस