काठमाडौं- सरकारले अब सबै विदेशी पर्यटकलाई पाँच हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा नेपाल ल्याउन अनुमति दिने भएको छ। यसअघिसम्म सीमित रकम मात्र ल्याउन पाउने व्यवस्था थियो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो नीति परिवर्तन गरिएको जानकारी गराएका हुन्।
भारतीय पर्यटकहरूले पनि अब पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन सक्नेछन्। यसअघि उनीहरूलाई २५ हजार भारतीय मात्र ल्याउने अनुमति थियो।
बजेट भाषणमा उल्लेख भएअनुसार पाँच हजार डलरभन्दा बढी रकम ल्याउने पर्यटकहरूले भन्सार विन्दुमा स्वघोषणा गरी ल्याउन सक्नेछन्। सरकारको भनाइमा यो कदमले पर्यटकलाई सहजता दिने र नेपालको पर्यटन क्षेत्रलाई थप प्रोत्साहन गर्ने उद्देश्य लिएको छ।
सरकारले मुद्रा विनिमय तथा विदेशी मुद्रा प्रचलनसम्बन्धी नीतिहरू लचिलो बनाउँदै पर्यटन प्रबर्द्धनसँगै औपचारिक आर्थिक प्रणालीमा विदेशी मुद्रा भित्र्याउने रणनीति अपनाएको संकेत बजेटले गरेको छ।