काठमाडौं- सहकारी संस्थाको बचत अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने गरिने भएको छ।
संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरूको पुनःगठन, कडा नियमन र बचतकर्ताको सुरक्षा बढाउने योजना सार्वजनिक गरेका हुन्।
सरकारले सहकारी क्षेत्रमा व्यवस्थित सुधार गर्न आगामी आर्थिक वर्षको बजेटमा केही महत्वपूर्ण नीतिगत प्रावधानसमेत घोषणा गरेको छ। समस्याग्रस्त सहकारी संस्थाहरूको वर्गीकरण, एकीकरण र संरचनात्मक सुधार गरिनेछ।
पाँच लाख रूपैयाँसम्मको सहकारी बचतमा निक्षेप सुरक्षण गरिनेछ जसले गर्दा साना बचतकर्ताहरूको पुँजी सुरक्षित हुने जनाइएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी निगरानी गर्नेगरी योजना अघि बढाइएको छ। सहकारी ऋण असुलीका लागि विशेष न्यायाधीकरण स्थापना गरिनेछ। समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन गर्ने व्यक्तिहरूविरुद्ध कारबाही गरिने भएको छ।
यस्ता कार्यक्रमले गर्दा सहकारी क्षेत्रमा पारदर्शिता बढ्ने र जनताको विश्वास पुनःस्थापित हुने अपेक्षा बजेट वक्तव्यमा उल्लेख छ । यस्ता व्यवस्थाले अर्थतन्त्रको अनौपचारिक क्षेत्रलाई सुदृढ बनाउने विश्वास सरकारको छ।
सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको राहदानी रोक्का गर्ने नीतिसमेत अघि सारेको छ। समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको राहदानी र सम्पत्ति रोक्का गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। रासस