काठमाडौं- वैकल्पिक ऊर्जासहित देशको ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहिबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
हाल देश भर कुल जडित विद्युत क्षमता तीन हजार ६०२ मेगावाट पुगेको छ। त्यस्तै देशभरी ३६ हजार १ सय ३२ किलोमिटर सडकको निर्माण भएको छ। यो संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जालसहितको विवरण हो।
इन्टरनेट ग्राहकको घनत्व १४४.३२ प्रतिशत पुगेको पनि अर्थमन्त्री पौडेलले बताए। साथै ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर हासिल हुने उल्लेख गरिएको छ। यस्तै यस अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय लेखा तथ्यांकलाई आर्थिक सर्वेक्षणमा समावेश गरिएको छ।
यस अवधिसम्ममा आयात ११ प्रतिशत र निर्यात ५७ प्रतिशतले बढेको छ। मानव विकास सूचकांक ०.६२२ प्रतिशत पुगेको छ। आधारभुत खुद भर्ना दर ९४.१ प्रतिशत, ३७ हजार १८४ विपन्न नगारिकको मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचार प्राप्त गरेका छन्।
त्यस्तै ९६.८५ प्रतिशत जनसंख्या आधारभुत खानेपानीको पहुँचमा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। यस्तै, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३८९ रहेको छ।