सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

घटिरहेको सेयर बजार स्थिर, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार

मंगलबार, जेठ १३ २०८२
घटिरहेको सेयर बजार स्थिर, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार

काठमाडौं- यो साता यसअघिका दुई कारोबारमा राताम्य देखिएको सेयर बजार आज मंगलबार स्थिर देखिएको छ। गएको साता समग्रमा ७६ अंकले बढेको सेयर बजारमा अहिले लगानीकर्ता विश्वस्त देखिएका छैनन्। 

मंगलबार ०.८६ अंकले बढेर बजार २६७५.६३ बिन्दुमा पुगेको छ। ८५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ८.५७ अंकले घटेर २६७९.९८ बिन्दुमा झरेको बजार सोमबार ५.२१ अंकले घटेर २६७४.७७ बिन्दुमा झरेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत सेयर कर्जाको सीमामा केही परिवर्तन गर्ने आशमा लगानीकर्ता रहेका थिए। जुन पूरा हुन सकेन। बैंकिङ प्रणालीबाट एकाघर परिवारका सेयर लगानीकर्ताहरूले १५ करोडसम्म कर्जा लिनसक्ने सीमा हट्ने आशमा रहेका सं‌गठित लगानीकर्ता निराश भएका छन्। 

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको  तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याएको छ। यो व्यवस्थाले मात्र सेयर बजार चलायमान हुने अवस्था भने देखिएको छैन।


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend