मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

खराब कर्जामा सुधार गर्दै नाफा बढाउँदै ग्लोबल आइएमई बैंक

शुक्रबार, वैशाख १२ २०८२
खराब कर्जामा सुधार गर्दै नाफा बढाउँदै ग्लोबल आइएमई बैंक

नाफा वृद्धि, सेवा विस्तार र ग्राहक सन्तुष्टिमा देखिएको सुधारले बैंकको समग्र व्यवसायिक दायरा थप फराकिलो बन्दै गएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकले खराब कर्जा व्यवस्थापनमा सुधार गर्दै उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको छ।

बैंकले समीक्षा अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३७.२७ प्रतिशतले वृद्धि हो। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो।

ब्याजदर घट्दा बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ। अघिल्लो वर्ष १३ अर्ब रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घटेर १२ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ।

तर बैंकले कर्जा नोक्सानीका लागि छुट्याइएको खर्च (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटाएर नाफा बढाउन सफल भएको देखिन्छ। गत वर्षको चैत मसान्तसम्ममा ५ अर्ब २६ करोड रुपैयाँ रहेको कर्जा नोक्सानी खर्च यस वर्ष घटेर ३ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ।

यद्यपि, बैंकको खराब कर्जाको अनुपात (एनपीएल) भने थोरै बढेको देखिन्छ। अघिल्लो वर्ष ४.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात यो त्रैमासमा बढेर ४.९८ प्रतिशतमा पुगेको छ। तर पनि अन्य सूचकमा सुधार देखिएकाले समग्र वित्तीय अवस्था सकारात्मक छ।

बैंकको वितरणयोग्य नाफा समेत उल्लेखनीय रूपले बढेको छ। अघिल्लो वर्ष ४२ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य घाटामा रहेको बैंक यस वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५४ करोड रुपैयाँ वितरणयोग्य नाफामा पुगेको छ।

यसका साथै, बैंकको प्राथमिक पुँजीकोषमा पनि सुधार आएको छ। तेस्रो त्रैमाससम्ममा बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.९३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष बैंकले ४८ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो, यस वर्षको नाफा संरचनाले थप लाभांश दिने सम्भावना संकेत गरेको छ।

निष्कर्षमा, खराब कर्जा केही बढे पनि कर्जा नोक्सानी खर्च घटाउँदै वितरणयोग्य नाफा तथा पूँजीकोष सुधार गर्दै ग्लोबल आइएमई बैंक स्थायित्वतर्फ अघि बढेको देखिन्छ। ब्याज आम्दानीमा कमी भए पनि खर्च व्यवस्थापन र नाफाको स्तरले बैंकको वित्तीय स्वास्थ्य सकारात्मक दिशामा रहेको संकेत गर्छ।

बैंकले सेवा विस्तार, शाखा सञ्जाल र ग्राहक योजनाका हिसाबले पनि आफूलाई थप सुदृढ बनाउँदै लगेको छ। सेवा सञ्जालको दृष्टिकोणले हेर्दा, ग्लोबल आइएमई देशकै पहिलो निजी बैंक हो जसले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ। हाल बैंकसँग ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा केन्द्र र ६५ राजस्व संकलन काउन्टर छन्। बैंकले देशभरका करिब ४६ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

ग्राहक वर्गलाई लक्षित गर्दै बैंकले विभिन्न प्रकारका बचत खाता, कर्जा योजना, बीमा, फिक्स्ड डिपोजिट, मोबाइल तथा इन्टरनेट बैंकिङ, क्युआर कोड भुक्तानी, डेबिट र क्रेडिट कार्ड सेवा, रेमिट्यान्स, अन्तर्राष्ट्रिय विनिमयलगायतका सेवाहरू दिँदै आएको छ। विदेशमा रहेका नेपालीलाई लक्षित गरी बेलायत, भारत र अष्ट्रेलियामा प्रतिनिधि कार्यालयमार्फत सेवा दिइँदै आएको छ।

देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल निर्माण गरी पहुँच विस्तारमा जोड दिएको बैंकले सेवा गुणस्तरमा समेत ध्यान दिँदै आएको छ। प्रविधिमैत्री प्रणाली, ग्रामीण क्षेत्रसम्मको पहुँच, अनलाइन सेवा र ग्राहकलाई लक्षित योजनाले बैंकको प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाएको छ।

नाफा वृद्धि, सेवा विस्तार र ग्राहक सन्तुष्टिमा देखिएको सुधारले बैंकको समग्र व्यवसायिक दायरा थप फराकिलो बन्दै गएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend