आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सिद्धबाबा सुरुङ निर्माणको जिम्मा बुटवल-नारायणगढ सडक विस्तारकाे काम गर्ने चिनियाँ कम्पनीलाई

चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ काम गर्ने

आइतबार, फागुन १ २०७८
सिद्धबाबा सुरुङ निर्माणको जिम्मा बुटवल-नारायणगढ सडक विस्तारकाे काम गर्ने चिनियाँ कम्पनीलाई

सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ।

काठमाडौं- सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ। बुटवल-नारायणगढ सडक विस्तारको काम समेत यही कम्पनीले गरिरहेको छ। ती वर्षको अवधिमा सो सडक विस्तारको काम न्यून हो। 

सोही चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङ निर्माणको जिम्मा पाएको हो। प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा सबैभन्दा कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का पाएको हो। सडक विभागका अनुसार प्राविधिक रुपमा छानिएका चारवटै कम्पनी चिनियाँ हुन्। 

सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान भएको थियो। सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ। 

नरायणगढ बुटवल सडक र काठमाडौं-तराई मधेस द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको जिम्मा पनि सोही कम्पनीले पाएको छ।

सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो। यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ। 

यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम चीनकै प्रतिद्वन्द्वी कोभेक-सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको थियो। चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको थियो। त्यस्तै चाइना फर्सट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको हो। 

केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गरेको थियो। सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेन्डर आह्वान गरेको थियो।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडीसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको थियो। यो सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ भने सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि ३.५ किलोमिटरको रकनेट (जाली) राखिनेछ। करिब पाँच वर्षमा यो सुरूङमार्ग निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य सडक विभागको छ। 

सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ। हरेक वर्षायाममा मात्र नभइ हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ।

ठेक्का पाएको कम्पनीले निर्माण सम्मपन्न्न भएको ५ वर्षसम्म सञ्चालन तथा मर्मत समेत गर्नुपर्ने छ। सुरुङ मार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पुरा गरि कार्य गर्न अर्थले स्वीकृति दिएको थियो।  

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक किलोमिटर तिनसय मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणको लागि भौगर्भिक अध्ययन थालिएको थियो। 


प्रकाशित : आइतबार, फागुन १ २०७८०२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend