पाल्पा- तिनाउ गाउँपालिका कचलकी ८१ वर्षीया चन्द्रकुमारी बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो भएको छ। बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख सुःखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्।
छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गर्दैछिन्। तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ। नबनाओस् पनि किन, ५०/६० घरधुरी थियो, गाउँमा उर्वरभूमि थियो। हरेकले आफूलाई पुग्ने खाद्यान्न र तरकारी फलाउँथे।
सबैजसोका बारीमा फलफूल थिए। वस्तुभाउ पाल्नको लागि दुःख थिएन तर समयको त्यो चित्र हेर्दाहेर्दै धमिलो बन्दै गयो। एक दशकयता एकपछि अर्को गर्दै छिमेकीहरु बसाइँसराई गरी तराई र सहरतिर गए। उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौँतरी अधिकांश गाउँ छोडेर बसाइँ सरेका छन्।
एक समय थियो, बगनासकाली गाउँपालिकाको चापपानीमा सधैँ चहलपहल हुन्थ्यो। गाउँको मन्दिरमा सधैंँ भजनकीर्तन चल्थ्यो। आँगनमा बुढापाका गफिइरहेका भेटिन्थे तर गाउँको त्यो रौनक समयक्रमसँगै कथा बन्दै गयो। पढेलेखेका जागिरको खोजीमा सहर पस्न थाले। कोही बसाइँ सरेर बजार र तराई झर्न थाले। गाउँको रौनक हराउँदै गयो। मान्छेको चहलपहल पातलिँदै गयो। भजनकीर्तनको स्वर घट्दै गयो।
अहिले यहाँका दर्जन बढी घर सुनसान छन्। ढुंगाका छानामा झार उम्रेका छन्। आँगनमा हरियो लेउ, झाडी देखिन्छ। खनजोत गरेर उब्जाउ हुने बारीका पाटा जंगलजस्तो भएका छन्। 'गाउँमा घर छन्, मान्छे छैनन्', स्थानीय लक्ष्मी तिमिल्सेनाले भनिन्, 'गाउँघरमा तर्साउने अवस्था आइसक्यो।' बसाइँसराइले गाउँ रित्तो बन्दै गएको बताउने उनले मान्छे हिँड्न छाडेपछि स-साना गोरेटाहरू पनि हराउँदै जान थालेको बताइन्।
यो अवस्था कचल, अर्चले र चापपानीको मात्र होइन सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्रहरु यति बेला खाली छन्। सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ बढेपछि यहाँका घरहरु खाली भएका हुन्। गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्तीहरू रित्तिँदै गएका छन्। अहिले हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा समेत सुविधा बढ्दै गएको छ तर गाउँबाट सहर झर्नेहरू घटेका छैनन्।
गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थातथलो छोडेर सहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।
पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे। अहिले गाउँ-गाउँमा टोल-टोलमा विकास पुगेको छ, मान्छे छैनन्। गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन्। पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्थे। सामान्य सेवा लिन दिनभरि लगाएर बजार धाउनुपर्थ्यो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन्।
कुनै समय पाल्पाको नमुना गाउँ विकास समिति भनिने मदन पोखरा तानसेन नगरपालिकासँग जोडिएको छ। परिवारले खाएर पनि बेच्न पुगेका तरकारी फलफूल तथा खाद्यान्न उब्जिने बस्तीहरु पछिल्लो समयमा वन्यजन्तुले समेत राज गर्न थालेको पाइन्छ। यहाँका बस्ती पछिल्लो समय नगरपालिकासँग जोडिए पनि उजाडिँदै गएका छन्।
रोजगारीको अवसरका कारण बस्तीहरु उजाडिँदै गएको स्थानीय हरिकला लुईँटेल बताउँछिन्। बँदेल र बाँदरको त बथानै हिड्दा गाउँका बस्तीहरुमा बस्न डरलाग्दो भएको उनको भनाइ छ।
अब गाउँमा बस्ने भनेको त अशक्त, बुढाबुढी अनि आर्थिक अवस्था कमजोर भएकाहरु मात्र भएको स्थानीय बेदप्रसाद न्यौपाने बताउँछन्।
गाउँबस्तीका घरआँगनमा मुख्य-मुख्य पर्वहरुमा समेत मानिसहरु देख्न कठिन भएको छ। पहिला-पहिला जस्तो गाउँ हराभरा छैन। अन्नबाली त परै जाओस् एक मुठी तरकारीका लागि पनि बजारको बाटो हेर्नुपर्ने बाध्यता छ।
मुलुक संघीय संरचनामा प्रवेश गरेपछि निर्मित संरचनाले गाउँ बस्तीमा भौतिक पूर्वाधारको विकास तीव्र गतिमा भए पनि पछिल्ला वर्षहरुमा घनाबस्तीले भरिएको ठाउँमा विकासको उपयोग गर्ने व्यक्ति नै नभएको रिब्दीकोट गाउँपालिका मैनादीकी कल्पना नेपालले बताइन्।
पहिले केही नहुँदा गाउँमा खेतीपाती, पशुपालन सबै थियो। अहिले बाटोघाटो छ, बत्ती छ तर मान्छे छैनन्। मानिसको बसोबास कम हुँदै गएपछि गाउँका घरहरुमा ताल्चा लगाइएको छ भने घरहरु जीर्ण बन्दै गएका छन्।
पछिल्ला वर्षहरुमा गाउँ रित्तिँदै सहर भरिँदै गएका छन्। सदरमुकाम तानसेन, दमकडा सराई खहरे, रामपुर बजारहरुमा जनघनत्व बढदै गइरहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँमा भन्दा सहरमा बसोबास गर्नेहरुको सङ्ख्या तीव्र गतिमा बढ्दो छ।
देशको कुल जनसख्या दुई करोड ९९ लाख ६४ हजार ५८८ मध्ये नगर क्षेत्रमा बसोबास गर्नेको जनङ्ख्या एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा मात्र बसोबास गर्नेको जनसङ्ख्या ९८ लाख ६९ हजार ७९० रहेको छ। अवसर र सुविधाको खोजीमा बसाइँसराइ गर्ने क्रम बढ्दा ग्रामीण क्षेत्र रित्तिइरहेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर पाँच लाख बस्न योग्य घर रित्ता छन्। त्यसयताका पछिल्ला चार वर्षमा यो संख्या अझै बढेको छ । खेतीयोग्य जमिनको २५ प्रतिशत बाँझै छ।
गाउँमा रोजगारी सिर्जना गर्ने, खानेपानी र स्वास्थ्यको व्यवस्था गर्ने र इन्टरनेटको सेवा विस्तार गर्न सके मात्र केही हदसम्म भए पनि बसाइँसराइ रोक्न सकिने तानसेन-१३ छेर्लुङ्गका समाजसेवी किशोर भट्टराईले बताए। 'गाउँमा केही टाठाबाठाहरु हुँदा दुःख, सुःखमा सहयोग हुने आस थियो, उनीहरू उठेपछि अरू पनि हिँड्न थालेका छन्,' भट्टराईले भने, 'गाउँका अगुवाले घर छाड्दा आश्रित पनि विस्थापित भएका छन्।'
गाउँको बसाइँसराइ रोक्ने दिशामा स्थानीय सरकारको ध्यान दिनुपर्ने उनको भनाइ छ। भट्टराईले भने, 'गाउँमा अब मलामी नै पाउन कठिन भएको छ। बिरामी भए उठाउने व्यक्ति नै छैनन्। गाउँका पुराना व्यक्तिहरु बस्ती छाडेर तराई झरे, केही बुटवल, काठमाडौंतिर लागे। गाउँ त खाली नै भयो। बनमाराले बारी ढाक्यो। परम्परागत खेती गर्दा वन्यजन्तुले खेती स्याहार्न दिँदैन। बस्तीमै जंगली जनावर आउन थालेकाले पशुपालन गर्न पनि सहज छैन।'
युवाहरुको पलायन रोक्न आगामी नीति तथा कार्यक्रममा कार्यक्रम बनाउने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। कृषिको हाटबजार स्थापना गर्ने, बजारको सुनिश्चित गराउने कामबाट युवा रोजगारी बढ्ने उनले विश्वास लिए। उनले भने, 'अब जसरी हुन्छ, बसाइँसराइ रोक्नुपर्नेछ।'
मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ स्थानीय सरकारले ध्यान नदिने हो भने गाउँमा बूढाबूढीबाहेक अरू कोही पनि नहुने रिब्दीकोटका गोविन्द पोखरेलको भनाइ छ।
उनले भने, 'हिजो स्वास्थ्य, शिक्षा, विद्युतलगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने सबै बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवासुविधा गाउँमा नपुर्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ।'
बसाइँसराइ रोक्न र ग्रामीण बस्तीको रौनक पुनः ब्युँताउन स्थानीय सरकारहरूले विभिन्न सुविधा र सहुलियतमार्फत पहल नगरेका होइनन्। सहुलियत ऋण तथा अनुदान, कृषिजन्य बीउ वितरण, बजार व्यवस्थापन, कृषिजन्य उत्पादन, भण्डारणजस्ता कार्यक्रममार्फत कृषकहरूलाई गाउँमा नै सहज वातावरण बनाउने प्रयास भएको छ। स्थानीय तहमा रोजगारीको पहिलो अवसर स्थानीय नागरिकलाई दिनेगरी प्राथमिकता समेत बनाइएको छ।
स्थानीय सरकारहरूले विभिन्न आकर्षक योजनामार्फत सुविधा दिएर रोक्ने प्रयास त गरिरहेका छन्, तर तिनका प्रयासमात्रै पर्याप्त छैनन्। जबसम्म तीनै तहका सरकारले प्रभावकारी समन्वयमार्फत् रोजगार तथा आधारभूत सुविधाका लागि व्यवस्थित ढंगले काम गर्दैनन्, बसाइँसराइ र ग्रामीण बस्ती रित्तिने क्रम रोकिने छैनन्। रासस