सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

उतारचढावबीच ओरालोतिरै सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

सोमबार, जेठ १२ २०८२
उतारचढावबीच ओरालोतिरै सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- गएको साता समग्रमा ७६ अंकले बढेको सेयर बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच पुन: ओरालो गति नै देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ८.५७ अंकले घटेर बजार २६७९.९८ बिन्दुमा झरेको बजार सोमबार पनि ओरालो नै लागेको हो।

सोमबार २७४५ को बिन्दुसम्म पुगेको बजार व्यापक उतारचढाव हुँदै कारोबार बन्द हुँदा ५.२१ अंकले घटेर २६७४.७७ बिन्दुमा झरेको छ। ९२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। सोमबार १५५ कम्पनीको सेयर मूल्य घटेको छ।  

गएको साता पहिलो कारोबारमा आइतबार २.७९ अंकले घटेको बजार सोमबार भने १९.३० अंकले बढेको थियो। मंगलबार ४९.०९ अंकले बढेको बजार बुधबार ७.९४ अंकले घटेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार बजार १९.०४ अंकले बढेको थियो।  

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत सेयर कर्जाको सीमामा केही परिवर्तन गर्ने आशमा लगानीकर्ता रहेका थिए। जुन पूरा हुन सकेन। बैंकिङ प्रणालीबाट एकाघर परिवारका सेयर लगानीकर्ताहरूले १५ करोडसम्म कर्जा लिनसक्ने सीमा हट्ने आशमा रहेका सं‌गठित लगानीकर्ता निराश भएका छन्। 

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको  तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याएको छ। यो व्यवस्थाले मात्र सेयर बजार चलायमान हुने अवस्था भने देखिएको छैन। 


प्रकाशित : सोमबार, जेठ १२ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend