शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

१४ वर्षदेखि अलपत्र सिरहा र धनुषा जोड्ने कमला पुल बजेटमा नसमेटिए अनशन बस्ने स्थानीयको चेतावनी

images
सोमबार, जेठ १२ २०८२
images
images
१४ वर्षदेखि अलपत्र सिरहा र धनुषा जोड्ने कमला पुल बजेटमा नसमेटिए अनशन बस्ने स्थानीयको चेतावनी

पुल नबन्दा सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउँजाउ गर्न भारतीय बजार जयनगर वा एक सय रुपैयाँ तिरेर डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ। त्यस्तै, आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केबर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुन्छ।

images
images

सिरहा- मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन्। समयमै पक्की पुल सम्पन्न गर्न आफूहरूले पटक-पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनीहरूले गुनासोसमेत गरेका छन्।

images
images
images

सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यादवले आगामी जेठ १५ गते संघीय संसदमा प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को बजेटमा कमला पुललाई समेटी स्रोतको सुनिश्चित नगरेमा जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुनः अनशन बस्न बाध्य हुने चेतावनी दिए।

images
images

गतवर्ष अनशन बसेका सिरहाका युवासँग भएको सहमति पनि मधेश-प्रदेश सरकारले समेत कार्यन्वयन नगरेको उनको भनाइ छ। ‘गत वर्षनै मधेश-प्रदेश सरकारले कमला पुल यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय सरकारसँग ठोस पहल गर्ने सहमति भएको थियो। तर, त्यो पालना भएन। केन्द्र सरकारबाट निरन्तर उच्चस्तरिय निरीक्षण हुने तर पुल नबन्ने शृङ्खला दोहोरिरह्यो’ वडाध्यक्ष यादवले भने।

images
images
images

अब आश्वासनको होइन, काम देखाउने बेला आएको उनकाे भनाइ छ। सरकारले कमला पुलको विषयलाई गम्भीरतापूर्वक नलिएन पुनः अनशनमा बस्न बाध्य हुने बताएका छन्। मधेशको जीवनरेखासँग प्रत्यक्ष गाँसिएको विषयलाई संघीय सरकारले बेवास्ता गरिरहेको उनले आरोप लगाए। पुल निर्माण संघर्ष समिति गठन गरी विगतदेखि स्थानीयवासी चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती बस्तीका हजारौँं नागरिकलाई दैनिक आवातजावतमा सास्ती भोग्दै आउनुपरेको संघर्ष समितिका संयोजक इञ्जीनीयर प्रवीण यादव बताउँछन्। उनी भन्छन्, ‘कमला नदीले बर्सेनि यहाँका बासिन्दालाई सास्ती दिँदै आएको छ। अस्थायी काठको पुल पनि वर्षामा आएको नदीको भेलले बगाएर लैजान्छ। जसले गर्दा यहाँका नागरिकको आवतजावत नै बन्द हुने समस्या छ। यो समस्यालाई गम्भीरतापूर्वक लिन र बजेट सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछु।’

पुल अलपत्र परेपछि गत वर्ष २०८१ को भदौ महिनामा सिरहाका १० जना युवा अभियान्ता नयाँ पुल निर्माण प्रक्रिया थाल्न माग गर्दै जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि हप्तादिनसम्म आमरण अनशन बसेका थिए। नयाँ कमला पुलको निर्माण गर्ने र त्यसका लागि संघीय सरकारसमक्ष पहल गर्ने र नभए सम्पूर्ण बजेट मध-प्रदेश सरकारको स्रोतबाट व्यहोर्नेलगायत चार बुँदे सहमतिकासाथ अनशन तोडिएको थियो।

‘उक्त सहमति कुनैपनि पालना नभएकाले अब पुनः अर्को आन्दोनमा उत्रिनुपर्ने अवस्था देखिँदै छ। पूर्व प्रतिबद्धता अनुसार यसपाली बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ। नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ’ गतवर्ष अनशन बसेका अभियन्ता शैलेस यादवले भने। यसबीचमा गृहमन्त्री रमेश लेखकले गत शुक्रबार कमला पुलको स्थलगत निरीक्षण गरेका थिए।

सो क्रममा उनले पुल निर्माणमा राज्यको कमजोरी भएको स्वीकार गर्दै अहिलेको सरकार यसप्रति गम्भीर रहेको बताए। साथै पुल पुनःनिर्माण यथाशीघ्र गराउन आफूले पहल गर्ने गृहमन्त्री लेखकले बताएका छन्। यता पुल निर्माण कम्पनी ‘लुम्बिनी विल्डर्स’ले गत चैत महिनादेखि पुल पुनःनिर्माणको काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्गकाे योजना कार्यालय जनकपुरले जनाएको छ।

निर्देशनालयका अनुसार आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएको थियो। यसअघि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो। पुल निर्माणको क्रममा पुलका दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बीमाबापतको रकम दाबी गरेको थियो।

हालसम्म उक्त विवाद निरूपण भइनसकेको निर्माण पक्षले जनाएको छ। वि.सं. २०६८ जेठ ३१ गते तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। तर, पटक-पटक म्याद थपेर १४ वर्ष गुज्रिदा पनि पुल निर्माणको काम अधुरै छ। ‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल १० वर्षसम्म अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो। यसैबीचमा अन्तिम पटकका लागि २०८२ असारसम्मको थपिएको म्याद पनि त्यत्तिकै गुज्रिएको छ।

पुल नबन्दा सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउँजाउ गर्न भारतीय बजार जयनगर वा एक सय रुपैयाँ तिरेर डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ। त्यस्तै, आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केबर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुन्छ। तराई-मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेस-प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो। रासस 


प्रकाशित : सोमबार, जेठ १२ २०८२१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend