काठमाडौं- ‘एप्पलमा यदि आत्मादेखि मिल्ने कोही मेरा साझेदार थिए भने ती जोनी हुन्’ स्व स्टिभ जब्सको यो भनाइले नै बेलायती डिजाइनर सर जोनी आइभका बारेमा धेरै बुझाउँछ। यी दुई मिलेर प्रविधिको दुनियाँमा ल्याएको क्रान्ति सबैले देखेकै छन्।
१८ वर्षअघि आईफोन सार्वजनिक भएपछि आजसम्म त्यसले प्रविधिको बेग्लै दुनियाँ देखाइरहेको छ। जसमा जब्स भिजिनरी लिडर र आविष्कारक थिए भने आइभले एप्पलका प्रडक्टको स्वरुप, त्यसमा हुने अनुभूति र साजसज्जामा निखार ल्याएका थिए।
आफूले एप्पल छाडेको ६ वर्षपछि र जब्सको निधन भएको १४ वर्षपछि आइभ सिलिकन भ्यालीमा एक नवीन साझेदारीसहित पुनः प्रवेश गर्दैछन्। ती साझेदार हुन् ओपनएआईका संस्थापक साम अल्टम्यान।
आइभ अब ओपनएआईसँग सहकार्य गर्दै नयाँ प्रकारका उपकरणहरू बनाउने तयारीमा छन्। विकल्पविहीन बनेर एकछत्र राज गरिरहेको आईफोनको पूरक बन्न सक्नेगरी नयाँ उपकरण ल्याइने विश्वास गरिएको छ।
ओपनएआईले आइभको स्टार्टप ‘आईओ’लाई ६.५ बिलियनमा आफूअन्तर्गत ल्याइसकेको छ। जसमा आइभ ओपनएआईको पूर्णकालीन कर्मचारी नभइ सल्लाहकारको रुपमा संलग्न हुनेछन्। आईओका झन्डै ६० जना डिजाइनर, इन्जिनियर र अन्य टोली भने ओपनएआईमा समाहित हुने छन्।
ओपनएआईका संस्थापक साम अल्टम्यानका अनुसार उनीहरू अब कम्प्युटर उपयोग गर्ने तरिका नै पुन:परिभाषित गर्ने तयारीमा लागेका छन्। जसमा केन्द्रमा हुनेछ ओपनएआईको च्याटजीपीटी। उनीहरूको नयाँ प्रडक्ट कस्तो हुनेछ भन्ने अहिले नै स्पष्ट नभए पनि विशेषत: एआईको नै नयाँ परिस्कृत स्वरुपमा काम भइरहेको देखिन्छ। यो नयाँ प्रडक्ट न त मोबाइल फोनजस्तो हुनेछ न त यसमा कुनै स्क्रिन नै हुनेछ।
‘पछिल्ला ३० वर्षमा मैले सिकेका सबै कुराले नै मलाई यहाँसम्म ल्याएको हो’ आइभलाई उद्धृत गर्दै टेलिग्राफले लेखेको छ। उनले यो नयाँ परियोजना साकार भएमा ओपनएआईका लागिमात्र नभएर सम्पूर्ण विश्वका लागि नयाँ देन हुने उल्लेख गरेका छन्।
आइभले आईम्याक, आईपड र आईफोनजस्ता उत्पादनहरू डिजाइन गरेर एप्पललाई आजको मल्टिट्रिलियन डलरको कम्पनी बनाउन मद्धत गरेका थिए। स्टिभ जब्सपछि एप्पलमा आइभकै भूमिकालाई ज्यादा महत्वपूर्ण मानिन्थ्यो। आईफोनको बक्स निकालेर हेर्नेले त्यो आफ्नै लागि गरेको मेहनत ठानोस् भन्ने आध्यात्मिक सोच उनको काममा देखिन्थ्यो।
सन् २०१९ मा एप्पल छाडेपछि आइभले डिजाइनसम्बन्धी सरसल्लाह दिने ‘लभफर्म’ नामको कन्सल्टेन्सी खोलेका थिए। जसमार्फत उनले फरारीदेखि बेलायती राजाको राज्याभिषेक समारोहसम्ममा काम गरे।
आइभले पछिल्लो समय प्रविधिको दुनियाँ पैसा र शक्तिका लागिमात्र लागिरहेको भन्दै आलोचना गर्ने गरेका थिए। आफूहरुले सुरुवाति दिनमा जुन आदर्शसाथ काम सुरु गरेका थिए त्यो अहिले हराउँदै गएको उनको भनाइ छ। अहिले साम अल्टम्यानसँगको सम्बन्धलाई उनले फरक यात्रा देखिए पनि आफूहरूको मूल्यमान्यता र उद्देश्य एकै भएको आइभ बताउँछन्।
ओपनएआईमार्फत के बनाउने भनेर अहिलेसम्म धेरै विवरण सार्वजनिक भएको छैन। तर दि वाल स्ट्रिट जर्नलका अनुसार ओपन एआईले सन् २०२६ भित्र एउटा नयाँ उपकरण ल्याउने तयारी गरिरहेको छ। जुन अहिलेका ल्यापटप र स्मार्टफोनभन्दा निकै परिष्कृत हुने विश्वास गरिएको छ। दि टेलिग्राफका अनुसार ओपनएआईमार्फत ल्याइने नयाँ प्रडक्ट सानो ‘पड’ जस्तो हुनेछ। जुन आईफोनको समेत विकल्प बन्नेछ। भविष्यमा अन्य नयाँ-नयाँ स्मार्ट उपकरणहरू आउन सक्नेतर्फ अल्टम्यानले संकेत गरेका छन्।
सीसीएस इन्साइटका प्रमुख विश्लेषक बेन वुडलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘आइभको सफलताको कीर्तिमान हेर्दा, उनी असफल हुन्छन् भनेर अनुमान गर्नु मूर्खता हुनेछ।'
कतिपयले भने प्रविधिको दुनियाँमा आइभको पुनरागमनलाई ‘इतिहासकै महँगा सल्लाहकार’ भएको भन्दै आलोचना गरिरहेका छन्। प्रविधिको दुनियाँमा नयाँ बहस निकालिरहेको आइभको पुनरागमनले धेरैमा भने डरसमेत देखिन्छ। एआईको परिष्कृत स्वरुपसहित नयाँ पुस्ताको कम्प्युटर कस्तो आउला पर्खाइ ब्यग्र बनिरहेको छ।
ओपनएआईसँगको आइभको सहकार्यलाई विश्लेषकहरूले एआई प्रविधिको हार्डवेयरमा निर्णायक मोडका रूपमा हेरेका छन्। ओपनएआईले नै सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक गरेपछि एआईको क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात भएको थियो। तर हार्डवेयरमा भने तीव्र विकास हुन सकेको थिएन। त्यसैले ओपनएआई र आइभको यो प्रयासलाई धेरैले निकै चासोका साथ हेरिरहेका छन्।
एप्पल, गुगल, मेटाजस्ता कम्पनीहरूले पहिले नै एआई-आधारित चश्मा, हेडसेट र अन्य उपकरणमा लगानी गरिरहेका छन्। ओपनएआईको नयाँ पहल भने पुराना कामहरू भन्दा निकै भिन्न हुने विश्वास गरिएको छ। अब प्रविधिको भविष्य सफ्टवेयरमा मात्र होइन एआईअनुकूल हार्डवेयरमा पनि निर्भर हुनेछ।