नेपालगञ्ज- कृषि ज्ञान केन्द्र बाँकेले मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री तथा बीउबीजन वितरण गरेको छ। लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ गाउँपालिका-५ का ३२ घर मुक्तकमैयालाई सामग्री तथा बीउबीजन वितरण गरेको हाे।
जसमा स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण छन्। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले सो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
एउटा परिवारका लागि १२ हजार रुपैयाँ बराबरको कृषि उपकरणसहित बीउबीजन वितरण उनकाे भनाइ छ। प्रदेश सरकरको उद्देश्य पनि सीमान्तकृत समुदायका घरपरिवारलाई छनोट गरेर आयआर्जन बढाउन सहयोग गर्ने भएकाले कृषि उपकरण र बीउबीजन निःशुल्क वितरण गरिएको छ।
‘हामीले कृषि प्राविधिक भेटघाट कार्यक्रममा सरकारी सेवामा पहुँच नभएका व्यक्तिसँग छलफल गरेर उहाँहरुको मागअनुसार कृषि उपकरण र बीउबीजन वितरण गरिएको हो’, प्रमुख घिमिरेले भने। उनका अनुसार जिल्लाका विभिन्न स्थानमा स्थलगत रुपमा कृषि प्राविधिक भेटघाटले किसान उत्साहित भएका छन्।
गाउँगाउँमा जाँदा सरकराको पहुँच नपुगेको क्षेत्र छनोट गरेर विपन्न समुदायलाई कृषि सामग्री र बीउबिजन वितरण गरिएको हाे। यस वर्ष ५० घर विपन्न परिवार यस कार्यक्रमबाट लाभान्वित हुने छन्। यसअघि ज्ञान केन्द्रले डुडुवा गाउँपालिका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विपन्न किसानलाई पनि वितरण गरेको थियो। रासस