मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१० ठूला वाणिज्य बैंकको कर्जाको अडिट गर्न बंगलादेशी लेखापरीक्षक प्राविधिकरुपमा सफल

शुक्रबार, जेठ ९ २०८२
१० ठूला वाणिज्य बैंकको कर्जाको अडिट गर्न बंगलादेशी लेखापरीक्षक प्राविधिकरुपमा सफल

काठमाडौं- नेपालका १० ठूला वाणिज्य बैंकको कर्जाको लेखापरीक्षण (लोन पोर्टफोलियो रिभ्यू) का लागि बंगलादेशी लेखापरीक्षक हाउलेदर युनियस कम्पनी प्राविधिकरुपमा सफल भएको छ।

प्राविधिकरुपमा सफल भएपछि राष्ट्र बैंकले यही जेठ २५ गते वित्तीय प्रस्ताव पेस गर्न भनेको छ। वित्तीय प्रस्तावमा सफल भएपछि मात्रै यस कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरुको कर्जाको लेखापरीक्षण गर्न पाउने छन्। 

यसअघि भारतीय कम्पनी केपीएमजी लेखापरीक्षकरुपमा छनौट भएपनि अन्तिम समयमा वित्तीय प्रस्ताव नमिलेको भन्दै राष्ट्र बैंकले सम्झौता रद्द गर्दै नयाँ बोलपत्र आह्वान गरेको थियो।

गत वर्षको असोजबाट हुने भनिएको बैंकहरुको कर्जाको लेखापरीक्षण ढिलो भइरहेको छ।

यसअघि केपीएमजी प्राविधिकरुपमा सफल भएपनि वित्तीयरुपमा असफल भएको भन्दै राष्ट्र बैंकले सम्झौता रद्द गरेको थियो। केपीएमजी वित्तीयरुपमा असफल भएपछि गत पुस २९ गते नयाँ बोलपत्र आह्वान गरेको थियो। जसमा हाउलेदर युनियस एण्ड कम्पनीसहित डिलोइट पार्टर्स, केपीएमजी, मेहेरा जेकेएसएस, एमकेएस एण्ड एसोसियट्स, एसआरविएस एण्ड विके अग्रवाल गरी ६ लेखापरीक्षक कम्पनी छनौट भएका थिए। उक्त ६ कम्पनीमध्ये राष्ट्र बैंकले बंगलादेशी हाउलेदर युनियस एण्ड कम्पनी छनौट गरेको हो।

अन्तर्राष्ट्रिय मुद्राकोषले नेपाललाई विस्तारित कर्जा सुविधा उपलब्ध गराउने समयमा नेपालका १० ठूला वाणिज्य बैंकहरुको कर्जाको लेखापरीक्षण स्वतन्त्र लेखापरीक्षकमार्फत गराउनुपर्ने सर्त राखेको थियो।

उक्त सर्तअनुसार गत वर्ष नै बैंकहरुको कर्जाको लेखापरीक्षण गराउने तयारी गरेपनि अन्तिम समयमा राष्ट्र बैंकले प्रकृया रोकेर नयाँ प्रकृया थालेको हो।

विस्तारित कर्जा सुविधाका छैँटौँ रिभ्यूका लागि मुद्राकोष नेपालमा आउने तयारी गरिरहेको बेलामा राष्ट्र बैंकले प्राविधिकरुपमा बंगलादेशी कम्पनीलाई लेखापरीक्षणका लागि छनोट गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२२१:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend