काठमाडौं- कोभिडको समयमा लोकप्रियताको उचाइ लिएको टेलिग्रामले उल्लेखनीय आर्थिक प्रगति हासिल गर्दै गइरहेको छ। टेलिग्रामले सन् २०२४ मा नै ५ सय ४० मिलियन अमेरिकी डलर नाफा कमाएको छ।
टेलिग्रामका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल डुरोभमाथि फ्रान्समा आपराधिक अनुसन्धान भइरहे पनि कम्पनीको आम्दानी र प्रयोगकर्तामा भने कमी आएको छैन।
डुबईमा रहेको टेलिग्रामले सन् २०२४ मा १.४ बिलियन डलर आम्दानी गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणा बढी हो। टेलिग्रामको यो आर्थिक सफलता सशुल्क प्रयोगकर्ताको वृद्धि, विज्ञापन र विभिन्न साझेदारीहरूको कारण सम्भव भएको बताइएको छ।
२०२४ को आम्दानीको करिब आधा हिस्सा ‘साझेदारी र इकोसिस्टम’ शीर्षकमा रहेको छ, जुन टेलिग्रामभित्रै निर्माण गरिएका मिनी एप्सहरूसँग सम्बन्धित छ। करिब २५० मिलियन डलर विज्ञापनबाट र २९२ मिलियन डलर प्रिमियम सदस्यताबाट आएको हो।
टेलिग्रामले निर्माण गरेको टन ब्लकचेन र टनकोइन क्रिप्टोकरेन्सीले कम्पनीको इकोसिस्टम विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। मिनी एप्स, जुन व्यापार, गेमिङ र भुक्तानी प्रणालीमा केन्द्रित छन् त्यसमार्फत कम्पनीले आफ्नो आम्दानीको आधा हिस्सा कमाएको छ।
टेलिग्रामले गत चार वर्षमा २.४ बिलियन डलर बराबरको ऋणपत्र जारी गरेको छ। २०२४ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म ३७५ मिलियन डलर ऋणपत्र फिर्ता गरेको उल्लेख गरिएको छ।
कम्पनीले हालै ९ प्रतिशत प्रतिफलदरमा १.५ बिलियन डलरको नयाँ ऋणपत्र जारी गर्न लागेको छ, जसबाट भविष्यमा सेयर बजारमा जाने सम्भावनासमेत खुला भएको छ। आगामी वर्ष २ बिलियन डलर आम्दानी र ७२० मिलियन डलर नाफाको लक्ष्य लिएको कम्पनीले सन् २०२५ को अन्त्यसम्म सार्वजनिक सेयर निष्कासन गर्ने सम्भावना देखिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
यस्तोमा टेलिग्रामका संस्थापक पावेल डुरोभ फ्रान्समा बाल यौन दुर्व्यवहार र आतंकवादसम्बन्धी आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा कानूनी झमेलामा छन्। टेलिग्राम एप मनी लन्डरिङ, लागुऔषध ओसारपसार, बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको ओसारपसारलगायतका लागि प्रयोग भएको आरोप लागेको छ। डुरोभले भने उक्त मुद्दा ‘राजनीतिक पूर्वाग्रह’ भएको भन्दै विरोध जनाएका छन्।
टेलिग्रामले आफ्नो भविष्यको रणनीति एआईमा केन्द्रित गर्दै एलन मस्कको एक्सएआईसँग साझेदारी गरेको छ। एक्स एआईको ग्रोक टेलिग्राममा जोडिएको छ।
टेलिग्राममा हाल विश्वभर एक अर्बभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ। एकतर्फ कानूनी चुनौतीहरूको सामना गरिरहेको कम्पनीले अर्कोतर्फ प्रविधि र नवप्रवर्तनमा आफूलाई अग्रस्थानमा राखिरहेको छ।