शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

यार्सागुम्बा संकलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

images
शुक्रबार, जेठ ९ २०८२
images
यार्सागुम्बा संकलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द
फाइल तस्बिर।

यहाँका स्थानीय बैशाख अन्तिमसाता नै यार्सागुम्बा संकलनका लागि पाटन गइसकेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ।

images
images

दार्चुला- यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक-विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन्। यार्सागुम्बा संकलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन्।

images
images
images

गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिंह साउदले यार्सा संकलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिए। बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उनले बताए।

images
images

जडीबुटी संकलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन्। गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन्।

images
images

अपी हिमाल गाउँपालिका-२ का स्थानीय गगनसिंह लोथ्यालले यार्सागुम्बा संकलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउँछन्। उनी भन्छन्, 'वर्षभरिको कमाइ यही यार्सागुम्बा हो। बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु!'

अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ-असारमा संकलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन्। त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन्। यहाँ वर्षौँदेखि यसरी नै यार्सागुम्बा खोज्ने गरिन्छ। खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ।

गाउँपालिका-३ का कमलसिंह धामी पनि वर्षभरिका अत्यावश्यक आवश्यकता पूर्तिका लागि यार्साको जोहो गर्नु परिरहेको बताउँछन्। 'अधिकांश ठाउँ भिरालो पाखो जमिन हो। दुई महिना यार्सागुम्बा संकलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ। हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्', उनले भने, 'यार्सा खोज्न निकै कष्टकर भए पनि जीविका चलाउनका लागि यसैको भर पर्नुपर्छ।'

यार्सागुम्बा संकलनकै लागि काठमाडौं, धनगढी, दार्चुला सदरमुकाम खलंगामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुग्ने गरेको छन्। काठमाडौंमा अध्ययन गर्दै आएका जय धामीले भने, 'यार्सागुम्बा संकलनका लागि बैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो। एक महिना यहाँ बस्छु, अनि काठमाडौं फकिने!'

उनी दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउँछन्। 'यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ। सधैँ धेरै भेटिन्छ भन्ने पनि हुँदैन। हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ। यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ, राम्रै आम्दानी हुने अपेक्षा छ', धामीको भनाइ छ।

यहाँका स्थानीय बैशाख अन्तिमसाता नै यार्सागुम्बा संकलनका लागि पाटन गइसकेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ।

दार्चुला बहुमुखी क्याम्पस खलंगामा अध्ययरत नौगाड गाउँपालिकाका खडकसिंह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपी पुगिसकेका छन्। 'एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु,' उनले भने, 'हाल पढाइ मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनुपर्‍यो। वर्षमा दुई बाली मात्र हुने अपी हिमालका खेतबाट उत्पादित अन्नले वर्षभरि पुग्दैन। घरमा जागिर नहुनेका लागि यही विकल्प छ।'

आम्दानीमात्रै होइन यहाँ जोखिम पनि उत्तिकै हुन्छ। पटकपटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा संकलन गर्नु परेको संकलक मानसिंह धामी बताउँछन्। उनका अुनसार घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेर पाटन जान्छन्। १२ देखि ५० वर्षसम्मका सबै मानिसहरू पाटनमा जाने गरेका छन्। यार्सा सिजन सुरु भएसँगै जिल्लाको  मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा  पनि लेक उक्लिएपछि यहाँका कतिपय घरमा ताला लागेका छन्।

जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगंगा कालीढुंगा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगंगा, चाइमटेलालगायत क्षेत्रमा सयौँ संकलकहरू पुगेका छन्। यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्सागुम्बा संकलन हुने गर्छ। 

जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर संकलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन्। कार्यालयले जिल्लाका १० वटा ठाउँबाट संकलन अनुमतिपत्र जारी गरिरहेको कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताए।

सबैले अनिवार्य रूपमा परिचयपत्र लिएर मात्रै संकलन गर्नुपर्ने कानूनी प्रावधान छ तर त्यसको पूर्ण पालना भएको देखिँदैन। जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्यालयले बताउने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend