आइतबार, मंसिर ९ गते २०८१    
images
images

एक गाग्री पानी भर्न एक घण्टाको उकालो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
images
एक गाग्री पानी भर्न एक घण्टाको उकालो

आयआर्जनको स्रोत खास केही छैन। अन्न बाली लगाए जङ्गली जनावरले सखाप पारिदिन्छ। अदुवा, बेसार मुस्किलले उब्जन्छ। त्यही बेचेर चामल किनेर खानुपर्ने अवस्था छ।

images
images

देउखुरी- ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ घोराही उपमहानगरपालिका-१९ खोलीगाउँका महिलाको । एक गाग्री पानी लिन हरेक दिन उकालो-ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरुको बिहानभरको समय त्यतै बित्ने गरेको छ।

images
images
images

एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन्। घोराही बजारबाट बढीमा नौ किलोमिटरको दूरीमा रहेको विकट क्षेत्र खोलीगाउँ पानी नपाएर छट्पटिएको छ। सहजरूपमा पानी पाउन सकिँदैन।

images

'सानो धारो आउँछ, दुई दिनमा एक दिनमात्रै पानी आउँछ। एक दिन पानीको जोहो गर्न सकिएन भने खानेपानीको समस्या हुन्छ', खोलीगाँउकी लक्ष्मी घर्तीले भनिन्। पानी नहुँदा बालबालिकाले नुहाउन पाएका छैनन्, सरसफाइमा पनि बाधा पुगेको छ। गाईवस्तुलाई खुवाउनु र तरकारी खेती गर्नु परको कुरा भएको छ। व्यवस्था फेरिए पनि अवस्था फेरिएको छैन। गाउँवासीले डोकोमा एक घण्टा ठाडो उकालोबाट पानी बोकेरै दैनिक गजारा चलाउनु परेको उनले बताइन्।

images

सिमको सङ्कलित पानीले यहाँका गाउँलेले दैनिक गुजारा गर्दै आएका छन्। एक गाग्री पानी भर्न एक घण्टा लाग्छ। त्यहाँ खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा र सहज बाटोघाटो पनि छैन। 'गाउँमा विद्यालय छैन, बालबालिकालाई सहजरूपमा विद्यालय पठाउन कठिन छ', स्थानीय विपना पुन मगरले भनिन्। पानी आाउन छाड्यो भने मुहानसम्म पुग्नै एक दिन लाग्छ। जसोतसो ल्याएको पानी मुस्किलले तीन घण्टा आउँछ  तर त्यो पानी पनि आलोपालो भर्नुपर्ने बाध्यता छ।

गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाको दैनिक गुजाराका लागि पानीकै समस्या छ। वर्षौँदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुडिए, कति डोका फाटे तर पानी सहज हुनसकेको छैन। एक गाग्री पानी लिएर घर पुग्दा सबैलाई ठूलै युद्ध जितेजस्तै हुन्छ।  

खोली गाउँका सुकमती पुन गरुले तीन घण्टा समय खर्चेर गाग्रीमा पानी लिएर आउने गरेको बताइन्। खोलीगाउँका सबैले पुस्तौँदेखि खानेपानीका लागि यसरी नै सङ्घर्ष गर्दै आएका छन्। घरमा साना नानी छन्, घरको काम हतारहतार सकेर पानी लिन धारोमा पुग्नुपर्छ। ढिलो गयो भने धारो सुक्छ, दुई दिनसम्म पानी भर्न पाइँदैन।

स्थानीयवासीले जनश्रमदान गरेर बनाएको पानीको स्रोत विसं २०७२ को भूकम्पले धक्का दिएपछि मूलबाट पानी आउन छोडेको छ। बिहान-बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको छ। पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौँ त्यो गर्छौँ भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उनले गुनासो गरिन्।

पानी नभएकै कारण महिनौँ दिनसम्म नुहाउन पनि नपाएको त्यहाँका बासिन्दाले बताए। यस क्षेत्र सदियौँदेखि बसेको बस्ती हो। यहाँको आयआर्जनको स्रोत खास केही छैन। अन्न बाली लगाए जङ्गली जनावरले सखाप पारिदिन्छ। अदुवा, बेसार मुस्किलले उब्जन्छ। त्यही बेचेर चामल किनेर खानुपर्ने अवस्था रहेको अर्का स्थानीयवासी देवबहादुर पुनले बताए।

बलिया र जवान युवामध्ये कोही कामको खोजीमा सहर पसेका छन् भने कोही भारत पुगेका छन्। उनीहरुले कमाएर पठाउने पैसाले खाने, बालबच्चा तथा परिवारको लालनपालन, शिक्षादिक्षा, उपचार खर्च चलाउने गरिएको र अन्य आधारभूत सुविधा नपाएको स्थानीयवासीको दुःखेसो थियो।

घर खर्च चलाउन आफूहरूले पालेका कुखुरा तथा बाख्रापाठाले घरको गर्जाे टार्नुपरेको छ। बालबालिका बिरामी परे घोराहीबजार झर्नुपर्ने अवस्था छ। वडा कार्यालयले सैघामा स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा दिए पनि त्यहाँ पुग्न पनि तीन घण्टा लाग्ने गरेको गाउँलेको भनाइ थियो।

घोराही उपमहानगरपालिका-१९ का वडाध्यक्ष हर्कबहादुर घर्तीले नागरिकको आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै लगिएको बताए। पानीका लागि पाइप ल्याएको छ तर त्यसलाई व्यवस्थित गर्न बाँकी छ, सबैलाई सहजरूपमा सेवा दिन भूगोल र बजेट बाधक रहेको उनको भनाइ थियो। 'विकासका काम विस्तारै हुने भएकाले केही समय लागेको हो' उनले भने। रासस


प्रकाशित : बिहीबार , माघ २७ २०७८१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend