काठमाडौं- संवैधानिक आयोगको नियुक्तिको विवादका बारेमा सर्वोच्च अदालतले जेठ २८ गते फैसला गर्ने मिति निर्धारण गरेको छ। अदालतको फैसाल नआउँदै विभिन्न आयोगमा नियुक्तिका लागि पूर्वसचिवहरुले अहिलेदेखि नै दौडधुप सुरू गरिसकेका छन्।
अदालतले नियुक्ति बदर गर्ने अनुमान गर्दै उनीहरूले नियुक्तिका लागि लबिङ सुरू गरिसकेका हुन्। विशेषगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि उनीहरूले दौडधुप बढाएका हुन्।
लामो समयदेखि थाँति रहेको मुद्दा अदालतले बल्ल आएर सुनुवाइ सकेको छ। अब २८ गते फैसला हुँदैछ। धेरैले नियुक्ति बदर हुने अनुमान गरेका छन्। केही गरी बदर नै भइहाले आफ्ना लागि नियुक्तिको बाटो खुला गर्न उनीहरूले दौडधुप बढाएका हुन्।
अहिले नै खाली रहेका वित्त आयोग र निर्वाचन आयोगभन्दा खाली नभएको नियुक्तिका लागि दौड तीव्र पार्नेमा मुख्यगरी दुई पूर्वसचिव छन्। पूर्वमुख्यसचिव रहेका शंकरदास बैरागी र महेश्वर न्यौपाने यो दौडमा अघि रहेका छन्।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने न्यौपानले यसअघिका अरु नियुक्तिमा अवसर पाउँदा पनि नगएको र अख्तियार पाए जाने नपाए नजाने भन्दै बसेका हुन्। उनी अहिले अख्तियारमा पाए जाने भन्दै दौडधुपमा लागेका छन्।
त्यस्तै मुख्यसचिवबाट अवकास लिएका शंकरदास बैरागी पनि यो दौडमा अगाडि रहेका छन्। परराष्ट्र सेवाबाट मुख्यसचिव भएका बैरागी मुख्यसचिवको कार्यकाल बाँकी हुँदै राजिनामा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए। त्यसपछि सरकारले उनलाई भारतको राजदूत बनाउने भनेपनि उनलाई बनाएको थिएन।
बैरागी विकल पौडेल र सुनिल पौडेल निकट मानिन्थे। उनीहरूको निकट मानिने बैरागी मुख्यसचिव हुँदा पनि पौडेलद्वयले आशिर्वाद पाएका थिए।
बैरागीले पछिल्लो समय मान्छेहरू भेट हुँदासमेत जेठ २८ गेतपछि आफू नै प्रमुख आयुक्त बन्छु भन्दै हिडेका छन्। नयाँ ठाउँमा कसैसँग गफ गर्दा उनले त्यो शब्द नछुटाउने उनी निकटहरूले बताउने गरेका छन्।
अदालतले संवैधानिक नियुक्तिको विवादको मुद्दाको सुनुवाइ अघि बढाएपछि अमेरकाको राजदूत बनेका लोदर्शन रेग्मी अमेरिका नगइ नेपालमै बसेका थिए। नियुक्ति खारेज हुने र त्यही मौका छोपेर अमेरिका जानुभन्दा यतै नियुक्ति लिने उनको दाउ थियो।