मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नयाँ गभर्नरलाई सेयर बजारको सन्देश : अब नीतिगत लचकताको पालो

बिहीबार , जेठ ८ २०८२
नयाँ गभर्नरलाई सेयर बजारको सन्देश : अब नीतिगत लचकताको पालो

बुधबारको कारोबार त्यसको संकेत थियो- खुल्दा उत्साह, बन्द हुँदा चेतावनी।

काठमाडौं- सेयर बजारमा बुधबार प्रि-ओपनिङ सेसनमा नै लगानीकर्तामा उत्साह देखिएको थियो। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिसँगै सकारात्मक धारणा बनेकाले नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको थियो।

प्रि-ओपनिङ सेसनमा उत्साहपूर्ण देखिएको बजार अन्त्यमा ७.९४ अंकले घट्दै २६६९.५१ बिन्दुमा आइपुगेर बन्द भयो।

९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रूपैयाँको कारोबार भयो। बुधबार १५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने एक कम्पनीको सेयर मूल्य स्थिर भयो।
 
केन्द्रीय बैंकमा नयाँ नेतृत्व आएसँगै सेयर बजारप्रति गहिरो आशाको मनोविज्ञान निर्माण भयो। जसमा अब नीति नै लचिलो हुनुपर्छ भन्ने देखिएको छ। विगत केही वर्षदेखि निरन्तर दबाबमा परेको बजारले नयाँ गभर्नरप्रति पुनः आशा राखेको छ। 

बुधबार बजारको सुरुवाती चरणमा सूचक २७७२ बिन्दुसम्म उक्लिएको थियो। तर अन्तिम घण्टामा अल्पकालीन कारोबारी हाबी हुँदा सूचक फेरि ओरालो लाग्यो र २६६९.५१ अंकमा आएर थामियो। कारोबार रकम भने १० अर्ब ६९ करोड नाघ्यो, जसले बजारमा सम्भावना कायम रहेको संकेत गर्छ।

अहिले बजारमा ठूला लगानीकर्ताको मूल माग नै सेयर कर्जामा लगाइएको १५ करोडको सीमा हटाइयोस् भन्ने छ। यो सीमा हटेलगत्तै ठूलो मात्रामा तरलता बजारमा फर्कनेछ, जसले सूचक उचाल्नेछ।

साथै हालै केही समययता ब्याजदर क्रमशः घट्दै गएकाले लगानीकर्तामा जोखिम लिनसक्ने क्षमतासमेत बढेको छ। ब्याजदर ८ प्रतिशतको हाराहारीमा आइपुगेको वर्तमान अवस्थामा कर्जा लिने र सेयर किन्ने वातावरण सहज छ।

यसबाहेक ब्रोकरमार्फत सेयर कर्जा दिने संरचना कार्यान्वयन हुने हो भने बजारमा साना तथा खुद्रा लगानीकर्ताको पहुँचसमेत विस्तार हुनेछ। अहिले बैंकमार्फत कर्जा लिँदा प्रक्रियागत झन्झट, मूल्यांकनको जटिलता र पहुँचको सीमितता छ। ब्रोकरमार्फत कर्जाको सुविधा लागु भएलगत्तै बजारमा सहभागिता दर वृद्धि हुनेछ, जसले सूचकलाई बल दिने विश्लेषकहरू बताउँछन्।

सेयर बजार यतिबेला मौद्रिक र नियामकीय दबाबबाट गुज्रिरहेको छ। विगतमा केन्द्रीय बैंकले सेयर कर्जा नियन्त्रणका नाममा लिएको कतिपय निर्णयले बजारलाई निरन्तर संकुचनतर्फ धकेल्यो। तर अहिले ब्याजदरको चक्र तल झरिसकेको, तरलता प्रशस्त भएको र विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख्य सुधार देखिएको अवस्थामा केन्द्रीय बैंक अब आक्रामक नियन्त्रणको होइन, लचक व्यवस्थापनको दिशामा जानुपर्ने अपेक्षा तीव्र भएको छ।

गभर्नर आएसँगै नीति परिमार्जनको ढोका खुलेको छ। यदि नयाँ नेतृत्वले १५ करोडको सीमा खारेज गर्ने, ब्रोकरमार्फत कर्जा दिने, जोखिमभार पुनः समायोजन गर्ने र पुँजी बजारमैत्री व्यवहार प्रस्तुत गर्ने संकेत दिन सकेमा बजार फेरि उत्साहको उचाइमा पुग्ने अनुमान विश्लेषकहरुको छ।

अहिले बजार न धेरै ओरालो न त नयाँ उचाइमा नै लाग्न सकेको छ। यो सन्दर्भमा अब लचक नीति आयो भने बजारलाई हरेक हिसाबले गति दिने वातावारण तयार भइसकेको छ। 


प्रकाशित : बिहीबार , जेठ ८ २०८२०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend