मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगानीकर्तामा देखिएन उत्साह, दुई दिनको वृद्धिपछि पुन: ओरालोतिरै सेयर बजार

बुधबार, जेठ ७ २०८२
लगानीकर्तामा देखिएन उत्साह, दुई दिनको वृद्धिपछि पुन: ओरालोतिरै सेयर बजार

राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिसँगै सेयर बजार बढ्ने अपेक्षाविपरीत उतारचढावबीच बजार ओरालोतर्फै लागेको हो।

काठमाडौं- यो साता पहिलो कारोबारमा घटेर त्यसयताका दुई कारोबारमा बढेको सेयर बजार बुधबार पुन: घटेको छ। राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिसँगै बजार बढ्ने लगानीकर्ताको अपेक्षाविपरीत बजार उतारचढावबीच ओरालोतर्फै लागेको हो। 

बुधबार प्रि-ओपनिङ सेसनमा उत्साहपूर्ण देखिएको बजार ७.९४ अंकले घट्दै २६६९.५१ बिन्दुमा आइपुगेर बन्द भएको छ।

९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रूपैयाँको कारोबार भएको छ। आज १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचकमा करिब १.२९ प्रतिशत (३४.७९ अंक) वृद्धि हुँदा सेन्सेटिभ इन्डेक्समा पनि १.४८ प्रतिशत (६.७१ अंक) को उछाल आएको थियो। यसले दिनभर कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा लगानीकर्तामा थियो। तर वृद्धिको अपेक्षाविपरीत बजार घट्यो।

गतसाता सबै कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको थियो। आइतबार २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा ओर्लिएको बजार सोमबार भने १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको थियो।

मंगलबार बजारमा ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुग्दा ७ अर्ब ३१ करोडको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend