बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सुरु भयो स्वाँतका भिरमा ‘हनी हन्टिङ’

images
बुधबार, जेठ ७ २०८२
images
सुरु भयो स्वाँतका भिरमा ‘हनी हन्टिङ’

स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिकरुपमा गाउँ वरपरको भिरमा सामूहिक मह सिकार गर्ने वर्षौँ अघिदेखिको चलनलाई निरन्तरता दिएका छन्।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतमा रहेका भिरहरुमा मह सिकार सुरु भएको छ। स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिकरुपमा गाउँ वरपरको भिरमा सामूहिक मह सिकार गर्ने वर्षौँ अघिदेखिको चलनलाई निरन्तरता दिएका छन्।

images
images
images

स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ। डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजालगायतका युवाहरु सहभागी भएका थिए।

images
images

अक्करे भिरमा सिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगीसहित करिब २० जना सहभागी थिए। मह सिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरुले युवाहरुलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन्। 

images
images

स्वाँतबासीहरु घरको काम सकेर दिनभर मह सिकार अवलोकन गर्न छहरे भिर गएका थिए। मह सिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस् भन्ने कामना गर्दै पुजाआजा गरिएको थियो। गत वर्ष दुईसय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ। 

केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको सिकारी पाइजाले बताए। छहरीको भिरमा ११ वटा गोला थियो। बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा मह सिकार गर्ने तयारी छ। त्यहाँ करिब २० वटा गोला छन्। 

खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको बासस्थान हुन्छ। वनजंगलमा फुल्ने फुल भिरमौरीको आहरा हो। हिउँदमा न्यानो खोज्दै बेशी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाईसराई गर्छन्।

मह सिकार अवलोकनका लागि पर्यटकहरु पनि आएका थिए। काठमाडौंका सागर पराजुलीले रसीमा झुण्डीएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए।

'मह सिकारीले डोरीको सहायताले भिर मौरीको गोला भएको डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको पहिलो पटक देख्दा शरिरनै जिरिङ्ग भयो,' उहाँले भन्नुभयो 'भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ् ।' 

भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । 

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन्। 

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाइदिएपछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ। जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन्।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ गरिन्छ।

चौध वर्षदेखि मह सिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाईबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव सुनाए। 'आठ दश वर्षअघिसम्म सिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,' उनले भने, 'अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ।'

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवर्द्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए। मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्व छ। विदेश गएका र सहरमा बस्नेहरुले भिरमह कोसेलीका रुपमा लैजाने गर्छन्। 

स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ। पराङमा चढ्ने, उनीहरुलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरुलाई तीन वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ। गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ। 

स्वाँतको भिरमहको मूल्य प्रतिलिटर तीन हजार रूपैयाँ कायम गरिएको छ। बसाइँ सरेर बेनी, पोखरा, काठमाडौं, चितवन गएकाहरु मह सिकार गर्ने समयमा स्वाँत आउँछन्। पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले मह सिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताइन्। स्वाँतमा बस्ति बसेदेखिनै मह सिकार गर्ने चलन रहेको छ।

अन्नपूर्ण गाउँपालिका-५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले मह सिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यवसायिक बनाउदै पर्यटनसँग जोड्ने योजना रहेको बताए। मह सिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थितरुपमा प्रशोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए। रासस


प्रकाशित : बुधबार, जेठ ७ २०८२१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend