शनिबार, असोज ५ गते २०८१    
images
images

औद्योगिक नगर बन्दै बाँके गनापुर

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
images
औद्योगिक नगर बन्दै बाँके गनापुर

गनापुरमा स्थापना भएका ६३ उद्योगमध्ये छ वटा बन्द अवस्थामा छन् भने पाँच वटा नयाँ उद्योग सञ्चालनमा आउँदै छन्।

images
images

राँझा- बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ। पछिल्लो समय जानकी-६ स्थित गनापुरमा ६३  उद्योग स्थापना भएका छन्।

images
images
images

नेपालगञ्ज औद्योगिक क्षेत्रमा  ३० उद्योगमात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन्।

पछिल्लो समय नयाँ-नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए। गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उनले बताए।

'नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ। पाइहाले पनि महङ्गो पर्ने गर्दछ। यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ', उनले भने, 'त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ।'

images

सो क्षेत्र नेपालगञ्ज-कोहलपुर सडकखण्डसँगै जोडिएको छ। गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन्। गनापुरमा सञ्चालनमा आएका उद्योगलाई मध्यनजर गर्दै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको छ। उद्योगसम्म पुग्ने सडकलाई विस्तार गर्दै उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको कार्यवाहक अध्यक्ष धितालले बताए।

गनापुरबाट गाउँपालिका कार्यालय हुँदै गुलरिया-नेपालगञ्ज जोड्ने सात किलोमिटर सडकलाई विस्तार गरी सात मिटर फराकिलो पक्की सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको उनले बताए। बाँकेको जानकी गाउँपालिका-५ मा दैनिक ७०० मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग थपेको छ। पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो। 

जानकी-५ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताए। उनका अनुसार गनापुरमा स्थापना भएका ६३ उद्योगमध्ये छवटा बन्द अवस्थामा छन् भने पाँचवटा नयाँ उद्योग सञ्चालनमा आउँदैछन्। अन्य उद्योग सञ्चालनमा छन्। उनले उद्योगलाई सेवा सुविधा दिएर करको दायरामा ल्याएको जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमिन नपाइने मात्र नभई महङ्गो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ। नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा सहर दुर्गन्धित हुने भएकाले पनि उद्योगीले जानकी गाउँपालिकालाई रोज्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताए। 

उनले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी, व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको उल्लेख गरे। रासस


प्रकाशित : बिहीबार , माघ २७ २०७८०५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend