काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएलगत्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन्।
ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको विषयमा भएको छलफलमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकसमेत उपस्थित थिए। चाँडो गभर्नर सिफारिस गर्न सभापति देउवाले प्रधानमन्त्री ओलीलाई दबाब दिएपछि गभर्नर सिफारिस समिति बैठक बस्न लागेको हो।
मंगलबार दिउँसो ४ बजेका लागि गभर्नर सिफारिस समिति बैठक बोलाइएको समितिका एक सदस्यले जानकारी दिए। '४ बजेका लागि गभर्नर सिफारिस समितिको बैठक बस्ने जानकारी आएको छ', ती सदस्यले भने।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने भनिए पनि सिफारिस समितिको बैठक बस्न नसक्दा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए। मन्त्रिपरिषद बैठक स्थगित गरेर हिजै देउवासँग भेट्ने कार्यक्रम तय भए पनि प्रम ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अन्तिम समयमा दुई नेताबीचको भेटवार्ता मंगलबारका लागि सारिएको थियो।
गभर्नर सिफारिस समितिमा अर्थमन्त्री पौडेल संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य र पोषराज पाण्डे विज्ञ सदश्य रहेका छन्। यसअघि गठन भएको सिफारिस समिति विघटन गरी सरकारले नयाँ सिफारिस समिति बनाएको हो। पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्वनाथ पौडेलले राजीनामा दिएपछि अधिकारी र पाण्डेसहितको नयाँ गभर्नर सिफारिस समिति गठन गरिएको हो।
यसअघि गभर्नरका रुपमा अगाडि सारिएका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेको भन्दै कांग्रेसले विश्वनाथ पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री ओलीलाई दबाब दिइरहेको छ।
तर, प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा कामु गभर्नर ढुंगानालाई नै गभर्नर बनाउने अडानमा देखिन्छन्। प्रधानमन्त्री ओलीको निर्देशनबमोजिम नै ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको बताइन्छ। पहिलो महिला गभर्नर बनाएको श्रेय लिन प्रधानमन्त्री ओलीले अरुलाई गभर्नर बन्नबाट रोक्दै आएका छन्।
प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै गभर्नर नपाए सरकार छोड्ने चेतावनी कांग्रेसले दिएपछि प्रधानमन्त्री ओली केही नरम बनेको बुझिएको छ। प्रधानमन्त्री नै गुमाउनुभन्दा गभर्नर पद छोड्दा उचित हुने निष्कर्षमा उनी पुगेको बताइएको छ।
कांग्रेसको दबाबपछि प्रधानमन्त्री ओलीले गभर्नर सिफारिस समितिको बैठक बोलाउन अर्थमन्त्री पौडेललाई निर्देशन दिएका हुन्। आजै ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक पनि उनले बोलाएका छन्।