काठमाडौं- गएको साता लगातार ओरालोतिर देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ।
साताको पहिलो कारोबारमा आइतबार कारोबारको सुरुवाती केही समयमा उकालोतिर देखिएको बजार पछि पुन: उतारचढावबीच ओरालोतिर नै लाग्यो। २.७९ अंकले घटेर बजार २६०९.०५ बिन्दुमा पुगेको छ। एक सयवटा कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार १४५ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेको बजार दोस्रो कारोबारमा मंगलबार १४.८७ अंकले घटेको थियो। बुधबार १३.९६ अंकले घटेको बजार बिहीबार पनि ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा ओर्लिएको थियो।
सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।
केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।