काठमाडौं- देशमा हाल पश्चिमी वायु, स्थानीय प्रणाली तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रणालीको असरले आज अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा दिउँसो वर्षाको सम्भावना प्रबल देखिएको मौसमविद्को भनाइ छ। बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात र वर्षा समेत हुन सक्ने सम्भावना छ।
मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने केही स्थानमा हुरीबतास चल्ने पूर्वानुमान गरिएको छ। दिनभरको तुलनामा राति मौसम केही खुलेको रहने भए पनि पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
मौसममा तीव्र उतारचढाव हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। रासस