म्याग्दी- बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नम्बर १ रत्नेचौरका महिलाहरूलाई बाँसका सामग्री बनाउने तालिम प्रदान गरिएको छ। महिलालाई आयआर्जनमूलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन भएको हाे।
कार्यक्रममार्फत १६ जना महिलाहरूलाई बाँसबाट सजावटका सामग्री र मुडा बुन्ने १५ दिने तालिम दिइएको छ। बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले रत्नेचौर र अर्जममा थप ७० जना महिलालाई व्यवसायिक च्याउखेतीसम्बन्धी तालिम दिने, बीउ र प्लास्टिक घर सहयोग गर्ने कार्यक्रम रहेको दिएकी छन्।
तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फूलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताएकी छन्। व्यावसायिक रूपमा सामान उत्पादन गरेर प्रशस्त मात्रामा पाइने बाँसको प्रयोग र सीपको सदुपयोग गर्ने योजना रहेको थापाले बताइन्।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन यस वर्ष बेनी नगरपालिकाले रत्नेचौर र वडा नम्बर ५ पुलाचौरमा कार्यक्रम सञ्चालन गरेको छ।
‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ’, उनले भन, ‘आर्थिक वर्ष २०७९/०८० देखि सुरू भएको चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।’
पुलाचौर आमा समूहमार्फत सेतोढुंगा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउखेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम दिएकाे छ। च्याउखेती र धुप बनाउनेलाई दुई/दुई दिन दिन, बीउ बनाउनेलाई एक/एक वटा टनेल सहयोग र ३ महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण सहयोग गरिएको छ। रासस