काठमाडौं- एआईको विकासले नयाँ मोड लिँदै गइरहँदा च्याटबोटहरू तत्कालीन विषयमा मात्र नभइ प्रयोगकर्तासँगको विगतका संवाद र प्राथमिकताहरू पनि सम्झिन सक्षम हुँदै गइरहेका छन्।
गुगल, ओपन एआई, मेटा र माइक्रोसफ्टजस्ता अग्रणी प्रविधि कम्पनीहरूले आफ्ना च्याटबोटहरूमा ‘स्मृति क्षमता’को विकासमा विशेष ध्यान दिँदै काम गरिरहेका छन्। जसले प्रयोगकर्ताको विभिन्न रुचि, संवाद शैली र व्यक्तिगत प्राथमिकताजस्ता विवरणहरू सम्झेर अझ व्यक्तिगतरुपमा उत्तर दिन सक्ने भएका छन्।
गुगलले आफ्नो जेमिनि च्याटबोटमा प्रयोगकर्ताले त्यसअघि के-के खोजे भन्ने इतिहाससम्मको स्मृति विस्तार गरिसकेको जनाएको छ। यस्तै ओपन एआईको च्याट-जीपीटीले पनि पुराना संवाद सम्झेर वर्तमानमा उत्तर दिन सक्नेगरी काम गरिरहेको छ।
नयाँ प्रविधिहरूले प्रयोगकर्तालाई अझ सटिक, उपयोगी र छरितो सेवा दिन सक्छन्। जस्तो कि कोही प्रयोगकर्ता शाकाहारी छन् भने च्याटबोटले माछामासुबारे कुराकानी गर्ने छैन। तर प्रविधिका जानकारहरू अत्याधिक व्यक्तिगत जानकारीको भण्डारणले प्रयोगकर्ताको गोपनीयता संकटमा पार्न सक्ने बताइरहेका छन्।
एमआईटी मिडिया ल्याबकी प्राध्यापक प्याटी माइसलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, ‘प्रणालीले तपाइँको बारेमा जति जान्दछ उति नै त्यसले प्रभावित पार्न वा नाफाका लागि त्यो डाटा प्रयोग हुन सक्छ।'
मेटा, माइक्रोसफ्ट र ओपन एआईजस्ता कम्पनीहरूले अहिले प्रयोगकर्ताको पूर्वानुमान गर्न मिल्ने व्यवहार, मनोविज्ञान र किनमेल प्रवृत्तिमा आधारित विज्ञापन र त्यस्तै सिफारिसको सम्भावनामा ध्यान दिइरहेका छन्।
माइक्रोसफ्टको ‘रिकल’ नामक सुविधाले कम्प्युटरमा स्क्रिनसट लिएर गतिविधि रेकर्ड गर्ने प्रयास गर्दैछ, जसलाई साइबर सुरक्षामा डरलाग्दो काम भएको भन्दै आलोचना भइरहेको छ।
एआईमा ‘मेमोरी’ थप्नाले ‘मेमोरी ड्रिफ्ट’ को समस्या पनि ल्याएको छ। जसमा पुराना जानकारीहरू समसयसँगै गलत, अप्रासंगिक वा विरोधाभासी बन्न सक्छन्। अर्कोतर्फ केही समयअघि च्याटजीपीटीको ‘जीपीटी फोर’ मोडेलले अत्यधिक चापलुसीपूर्ण व्यवहार देखाएपछि कम्पनीले त्यसलाई अघिल्लो संस्करणमा फिर्ता ल्याएको थियो।
ओपन एआईलगायत केही कम्पनीहरूले प्रयोगकर्तालाई नै आफ्नो स्मृति हेर्न, सम्पादन गर्न वा त्यसलाई पूर्णरुपमा बन्द गर्न सकिने सुविधा उपलब्ध गराएका छन्। तर प्रविधि विश्लेषकहरू भन्छन्, ‘प्रयोगकर्ताको चेतना र सक्रियताबिना यो प्रविधिले मानव स्वतन्त्रतालाई नै नियन्त्रण गर्न सक्ने जोखिम आउन सक्छ।'
एआईको स्मृति क्षमताले एकातर्फ सेवा सुधारको महत्त्वपूर्ण युगान्तकारी कदम हो भने अर्कोतर्फ यो गोपनीयता, मनोवैज्ञानिक प्रभाव र बजार नियन्त्रित प्रयोगको खतरासँग जोडिएको छ।
यो नयाँ प्रवृत्तिलाई प्रतिस्पर्धात्मक बजारमा ग्राहकलाई आकर्षित गर्ने रणनीतिको रूपमा हेरिएको छ। साथै अत्याधुनिक प्रविधिबाट थप रकम आर्जन गर्ने उपायका रुपमा पनि हेरिएको छ।
खासमा एआई कम्पनीहरू अहिले त्यही चुनौतीसँग जुधिरहेका छन् जुन मान्छेले युगौँदेखि सामना गर्दै आएका छन्- ‘स्मृतिलाई कसरी बचाइराख्ने।' तर आलोचकहरूले यसले प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी दुरुपयोग गरेर व्यावसायिक लाभ लिने र गोपनीयता उल्लंघन गर्ने सम्भावना रहेको भन्दै चेतावनी दिएका छन्।
केही महिनाअघि गुगलले जेमिनिको स्मृतिलाई प्रयोगकर्ताले त्यसअघि के-के प्रयोग गरेका थिए भन्ने खोजीको इतिहाससम्म विस्तार गरेको थियो। जुन केही अघिसम्म केवल च्याटबोटसँगको कुराकानीमै सीमित थियो। भविष्यमा त्यसलाई अन्य गुगल एप्ससम्म विस्तार गर्ने योजनासमेत रहेको बताइन्छ।
ओपन एआईको च्याट जीपीटी र मेटाको ह्वाट्सएप तथा मेसेन्जरमा प्रयोग गरिने च्याटबोटहरूले अघिल्ला संवादहरूलाई सन्दर्भको रूपमा प्रयोग गर्न सक्छन्। साथै व्यावसायिक प्रयोजनका लागि माइक्रोसफ्टले कम्पनीका डेटा- जस्तै इमेल, क्यालेन्डर र इन्ट्रानेट फाइलबाट एआईको स्मृति निर्माण गरिरहेको छ।
यो सबैका बीच एआई कम्पनीहरूको सोच विज्ञापन र अफिलिएट मार्केटिङमा आम्दानी बढाउन सकिने योजना बनाइरहेका छन्। मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले गत महिनाको एउटा सम्मेलनमा भनेका थिए, ‘हामीलाई कुनै उत्पादनहरू देखाउने र विज्ञापन गर्ने ठूलो अवसर हुनेछ।'
ओपन एआईले हालै च्याट जीपीटीमा किनमेलसम्बन्धी अनुभव सुधार गर्दै उत्पादन र समीक्षाहरू राम्रोसँग देखाउने बनाएको छ। तर पनि कम्पनीले अहिलेका लागि अफिलिएट लिंक प्रयोग नगरेको बताइरहेको छ।
यस्तोमा विभिन्न नियामक निकायहरूले एआईका यी नयाँ कामहरूले नाफाको लागि प्रयोगकर्तालाई कसरी प्रभावित गर्न सक्छन् भनेर हेरिरहेका छन्। सामान्य रुपमा पनि एआई मोडलहरूले ‘हेल्युसिनेट’ गर्न सक्छन्। गलत वा अर्थहीन उत्तर दिन सक्छन्। स्मृति विचलन हुन सक्छ, जसले उत्तरहरूको सटिकता कमजोर बनाउँछ।
जुकरबर्ग गहन बनाउन खोज्दैछन् एआईसँगको मित्रता, मानव सम्बन्ध कमजोर हुने चिन्ता