काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्ने बताएका छन्।
आजदेखि काठमाडौंमा सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिए।
वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताउँदै उनले भने, 'जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ।'
तटीय क्षेत्रका करोडौँ मानिसहरू जोखिममा रहेको भन्दै उनले साहसी, एकीकृत दृष्टिकोण 'हिमालदेखि महासागरसम्म' को सोच आवश्यक रहेको बताए। 'हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ। जलवायु-उत्थानशील बालीहरू बढाउनुपर्छ। महिला र युवालाई अगाडि ल्याउनुपर्छ। र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ', प्रधानमन्त्रीले भने।
नेपालको विश्वसँगको यो संवाद, पहलकदमी, गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर र हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास भएको उनले बताए।
'जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन। यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो। यसले सबै थोकलाई लपेट्छ, हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि। कुनै पनि राष्ट्र यसबाट अछुतो छैन। कुनै पनि समाज पूर्ण सुरक्षित छैन। तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन्। नेपाल पनि तीमध्ये एक हो', प्रधानमन्त्री ओलीले भने।
नेपालले सन् २०४५ सम्ममा खुद-शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले भने, 'हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौँ। हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौँ। हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौँ। तर हामी यी काम एक्लै गर्न सक्दैनौँ। कुनै देशले पनि एक्लै गर्न सक्दैन। जलवायु परिवर्तन एक वैश्विक आपत् हो। यसको समाधान पनि वैश्विक हुनुपर्छ।'
जसले सबैभन्दा बढी प्रदूषण गर्छन्, उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले भने, 'उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ - वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिवृद्धिमार्फत। र, हामी हिमाललाई नबिर्सौँ। विश्वका वार्ताहरूमा तिनीहरू प्राय: जसो उपेक्षित हुन्छन्। तर तिनैले जलवायु सन्तुलन कायम राख्छन्।'
विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तर्राष्ट्रिय ६१ संघ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ।