शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

मानवजस्ता रोबोटमा अघि बढेको चीन, चिन्ता रोजगारीको

images
शुक्रबार, जेठ २ २०८२
images
मानवजस्ता रोबोटमा अघि बढेको चीन, चिन्ता रोजगारीको

चीनले रोबोटिक भविष्यलाई आफ्नो रणनीति, आर्थिक योजना र सामाजिक संरचनाको अभिन्न अंग बनाइसकेको छ। मानवजस्तै रोबोटहरूको युगमा मानवको भूमिकाको पुनर्परिभाषा कसरी हुनेछ भन्ने प्रश्न भने उठिरहेको छ।

images
images

काठमाडौं- चीनको सांघाईमा रहेको गोप्यजस्तो देखिने एउटा गोदाममा हिजोआज दिनरात मानव आकृतिजस्ता रोबोटहरू अभ्यासरत छन्। कुनै स्यान्डविच बनाउँदै छन्, कुनै टिसर्ट पट्याउँदै छन् त कुनै ढोका खोल्ने अभ्यास गरिरहेका छन्।

images
images
images

ती रोबोटलाई त्यसैगरी हरेक दिन १७ घण्टा तालिम दिइँदै छ। रोबोटलाई दक्ष बनाएर तालिम दिइँदा लिइएका डाटाको आधारमा थप परिष्कृत गर्दै भविष्यमा यिनै रोबोटहरूले मानवको दैनिक जीवनको स्वरूप बदल्ने विश्वास लिइएको छ।

images
images

यो योजना एगिबोट नामको स्टार्टप कम्पनीले अघि सारेको हो। एगिबोट ‘ह्युमनोइड स्टार्टप’ हो जसले मानवजस्तो आकृति र व्यवहार भएका रोबोटहरू बनाउँछ। जुन उद्योग, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रहरूमा प्रयोगसमेत भइरहेका छन्।  

images
images

एगिबोटले चिनियाँ सरकारको सहयोगमा रोबोट उत्पादन, तालिम र डेटा संकलनको उच्चस्तरीय केन्द्र स्थापना गरेको छ। कम्पनीका साझेदार याओ माओचिङलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘हामी भविष्य देखिरहेका छौँ जहाँ रोबोटहरूले नै रोबोटको निर्माणमा सहयोग गर्ने छन्।'

चीन सरकारले पनि ‘ह्युमनोइड’ रोबोटमा देखिएको यथार्थपरक प्रगतिप्रति गहिरो चासो राखिरहेको छ। यही चासोले गर्दा गत महिना राष्ट्रपति सी जिनफिङले एगिबोट रोबोट केन्द्रको निरीक्षणसमेत गरेका थिए। रोबोट हेरेपछि ठट्यौली शैलीमा उनले प्रश्न गरेका थिए, ‘यिनीहरू फुटबल पनि खेल्न सक्छन्?’

चिनियाँ सरकारले ‘ह्युमनोइड’ रोबोट उद्योगमा पछिल्लो वर्ष २० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। चीनले १ खर्ब ३७ अर्ब डलरबराबरको नयाँ स्टार्टप सहयोग कोषसमेत घोषणा गरेको छ। सेन्जेज, बेइजिङ र वुहानजस्ता सहरहरूमा त स्थानीय सरकारले नि:शुल्क कार्यालय, खरिदमा प्रोत्साहन, करोडौँ अनुदानको व्यवस्थासमेत गरेका छन्।

जानकारहरूका अनुसार अहिले एउटा ‘ह्युमनोइड’ रोबोट बनाउन करिब ३५ हजार डलर खर्च लाग्छ। चीनले उत्पादन श्रृंखला सस्तो बनाउँदै लगिरहँदा यो लागत सन् २०३० सम्म १७ हजार डलरमा झर्ने विश्वास लिइएको छ। चीनले रोबोटको हार्डवेयरमा करिब ९० प्रतिशत स्वदेशमै उत्पादन गर्न सक्छ, जसले लागत घटाउने र प्रतिस्पर्धामा अग्रता दिन सहयोग गर्छ।

मानव आकृतिका रोबोटको दक्षता हार्डवेयरमा मात्र सीमित छैन। रोबोटलाई वास्तविक वातावरणमा सोचेर काम गर्न सक्षम बनाउने एआई मोडेलको विकासमा पनि चीनले प्रगति गरिरहेको छ। डिपसिक, अलिबाबा, क्वेन जस्ता चिनियाँ एआई प्लेटफर्महरू अहिले रोबोटका लागि ‘मस्तिष्क’ बनाउन प्रयोग गरिँदैछ।

त्यस्ता रोबोट बनाइरहेका कम्पनीहरूका अनुसार तिनका रोबोटहरू अहिले गुणस्तर परीक्षण, सामग्री व्यवस्थापन र उत्पादन लाइनमा कार्यरत छन्। १२ करोडभन्दा धेरै मानिस रोजगारीमा रहेको चीनको निर्माण क्षेत्रमा ‘ह्युमनोइड’ रोबोटको प्रवेशले दीर्घकालीन असर पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएका छन्।

चीनमा निर्माण क्षेत्रको ७० प्रतिशत काममा रोबोट र एआईको प्रभाव पर्ने अध्ययनहरू पनि भएका छन्। यस्तोमा बेरोजगारीलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नहरू पनि उठ्न थालेका छन्। तर चिनियाँ सरकारका अनुसार रोबोटको प्रयोगले वृद्धहरूको हेरचाह, जोखिमयुक्त र दोहोरिने कामहरूमा मात्र मानिसहरूको बोझ घटाउनेछ।

गएको डिसेम्बरमा जारी भएको चीनको वृद्ध हेरचाह राष्ट्रिय योजनाले ‘ह्युमनोइड’ रोबोटको प्रयोगलाई प्रोत्साहनसमेत दिएको छ। विभिन्न कम्पनीहरुले वृद्ध हेरचाहमा केन्द्रित रोबोट उत्पादन सुरुसमेत गरिसकेका छन्।

विश्लेषकहरूका अनुसार चीनले मानव आकृतिका रोबोट उत्पादनमा विश्वकै नेतृत्व लिन थालेको छ। सन् २०२४ मा मात्र चिनियाँ कम्पनीहरूले त्यस्ता रोबोटको विभिन्न ३६ मोडेल सार्वजनिक गरे, जुन अमेरिकी कम्पनीहरूले ल्याएको मोडेल संख्याको चार गुणा हो।

चीनका लागि मानव आकृतिका रोबोटहरू अत्यन्तै महत्त्वपूर्ण विषय बनेको छ। व्यापारमा देखिएका विवाद, जनसंख्याको गिरावट र आर्थिक वृद्धिको मन्दी समाधान गर्न चीनले यिनै रोबोटलाई केन्द्रमा राखेको छ। चीनले अब नयाँ औद्योगिक क्रान्तिको सपना देखिरहँदा कारखानाका धेरै कामहरू रोबोटहरूले गर्नेछन्।

यस्ता रोबोटहरूको वृद्धिदरका कारण चिनियाँ श्रमिकहरूको रोजगारी संकटमा पर्न सक्ने चिन्ता पनि बढेको छ। चिनियाँ नेताहरूले यसबारे विचार-विमर्श गर्न थालेका छन्।

चीनले रोबोटिक भविष्यलाई आफ्नो रणनीति, आर्थिक योजना र सामाजिक संरचनाको अभिन्न अंग बनाइसकेको छ। मानवजस्तै रोबोटहरूको युगमा मानवको भूमिकाको पुनर्परिभाषा कसरी हुनेछ भन्ने प्रश्न भने उठिरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend