काठमाडौं- चुनाव घोषणाले सेयर बजार बढ्ने आसमा बसेका लगानीकर्ता लगातर घट्न थालेपछि आत्तिदैँ बिक्री गर्न थालेका छन्। जसका कारण नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेको छ।
बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ जसको असर बजारमा देखिएको छ। चुनावले भन्दा पनि बैंकबाट सेयर धितोकर्जामा लगानी कम हुन थालेपछि ठूला लगानीकर्ता बजारबाट बहिरिएसँगै बजार लगातार घट्न थालेको हो। सेयर बजार घट्दा कारोबार रकम समेत खुम्चन थालेको छ।
साताको चाैथो दिन बुधवार पनि दोहोरो अंकले घटेको छ। बुधबार नेप्से २२.११ अंकले घटेर २८३१.४७ बिन्दुमा राेकिएकेो छ। बुधबार रमक पनि घटेको छ। बुधबार ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको हो। १ सय ९१ कप्पनीको कारोबार हुँदा २० कम्पनीको बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
यद्यपी विश्लेषकहरुले फागुनदेखि बजार सकारात्मक लयमा फर्कने बताउँदै आएका छन्। तर यो साता आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार थामिएर १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको थियो। तर पुनः मंगलबार बजार १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा पुगेको छ। मंगलबार ६ अर्ब २८ करोड रूपैयाँको कारोबार भएको थियो।
चुनावकै कारण सेयर बजार बढ्ने कुरामा सत्यता नरहेको भन्दै केही विश्लेषकहरू चुनावको समयमा सेयर बजार बढ्ने ट्रेन्डमा रहँदा बढ्ने गरेको र घट्दो ट्रेन्डमा रहँदा घट्ने गरेको बताउँछन्। यस वर्ष पनि सबै सूचकहरूले साथ दिइरहेकाले बजार बढ्ने नै भएकोले चुनावकै कारण असर नपर्ने तर्क उनीहरूको छ।
गत साता समग्रमा नेप्से ९५.७५ अंकले बढे पनि साताको अन्तिम कारोबारको दिन बिहीबार १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा आइपुगेको थियो। गत साताको पहिलो दिन आइतबार एकैदिन १०५.५५ अंकले बढे पनि यो साताको पहिलो दिन नै दोहोरो अंकले बजार घटेको थियो। तर सोमबारको बढोत्तरीको अवस्थाले भने बजारमा सकारात्मक संकेत गरेको भए पनि लगानीकर्ता नसमालिँदा मंगलबार पुनः बजार घटेको हो।
यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्यो। भूकम्प पछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गई ब्याजदर पनि धेरै तल झर्यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो।
यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनश सेयर वितरण भएन।
बजार विश्लेषकहरूका अनुसार यस पटक सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेको थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउदा बजार नसोचिएको हिसावले सुधार भयो।
बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भए पछि निक्षेप कर्ताले पनि आफूसँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे। अहिले त्यहि पैसा सेयर बजारबाट बाहिरिरहेको छ।
वैदेशिक मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दवाव पर्यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ।
यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किले क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुचारु गर्नका लागि उनिहरूलाई थप पुँजीको आवस्यकता पर्दछ।
नयाँ आएका लगानीकर्ताले स्टप लस गर्न जान्दैनन्। आफ्नो निक्षेप लिएर बसेकाहरू घाटा खाएर बिक्री गर्न चाहदैनन्। तर पुराना लगानीकर्ताले सकेसम्म माथिल्लो मूल्यमै बिक्री गर्छन्।