काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताए। जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था र इन्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आयोजित ‘कृषि-खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उनले यस्तो बताएका हुन्।
कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले सरकारले पनि यसलाई प्राथमिता दिएको मन्त्री खड्काको भनाइ छ। ‘पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ’ उनले भने, ‘नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेकाले यसलाई सुधार गर्न जरुरी छ।’
मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिँचाई क्षेत्रमा ठूलो हानी पुर्याएको बताए। सिँचाइले किसानलाई धेरै बाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पुर्याउने उनको भनाइ थियो। उर्जामन्त्री खड्काले सरकारले वि.सं. २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पुर्याउने दाबी गरेका छन्।
उनले भने, ‘सिँचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ।’ सम्मेलनमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सम्मेलनले सिँचाइ र कृषि क्षेत्रको सहकार्यबाट खाद्य प्रणाली सुधारमा पानीको भूमिका पहिचान गर्न सहयोग पुग्ने बताइन्। साथै राष्ट्रिय विकासको आधार कृषि भएकाले यस क्षेत्रको विकासका लागि पानीको सही सदुपयोग हुनुपर्ने उनको भनाइ छ।
कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले पानीको सही सदुपयोगमार्फत कृषि उत्पादकत्व बढाउनका लागि कृषि मन्त्रालय र सिँचाई विभागको थप समन्वयको आवश्यकता औँल्याए। सिँचाइ योग्य जमिनमा कृषिखेती नै प्रबर्द्धन रिनुपर्नेमा सचिव शर्माको जोड छ।
जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले सम्मेलनमा सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व र जलस्रोतको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्नेबारे आवश्यक छलफल हुने जानकारी दिए। जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक मित्र बरालले सम्मेलनमा पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि छलफल गरी सरकारको कृषि र सिँचाइ रणनीति तथा दिगो विकास लक्ष्य १, २ र ६ सँग समन्वयमा कार्यदिशा तय गर्ने जानकारी दिए।
‘कृषि-खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्व उच्च हुन्छ’ उपमहानिर्देशक बराल भन्छन्, ‘सिँचाइ तथा कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छौँ’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरू क्षेत्रगत एकिकरणका लागि विचार र समायोजन दृष्टिकोण’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। कृषि उत्पादकत्व वृद्धि गर्न सिँचाइलाई प्रबद्र्धन गर्न जरुरी भएको उपाध्यक्षको भनाइ छ। ‘कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न सिँचाइमा लगानी बढाउन लागिएको छ’ उनले भने।
इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्को आर्चिएरीले ‘कृषि-सिँचाइ एकीकरणका चुनौती र अवसर’ कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि प्रणालीमा परेको बताए। इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा. मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ र कृषिमा सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
परम्परागत खेती प्रणालीमा सुधार गर्न र सिँचाइका लागि जलव्यवस्थापनमा ध्यान दिन आग्रह गरे। नेपालको कृषि क्षेत्रले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यसले ठूलो जनसंख्यालाई रोजगारी समेत दिएको छ भने मुलुकको कूल गार्हस्थ उत्पादनमा झण्डै २५ प्रतिशत योगदान पुर्याउँदै आएको छ।
जलवायु परिवर्तन, पानीको अभाव र व्यवस्थापनको कमीले सबै सिँचाइयोग्य भूमिमा वर्षभरि सिँचाइ सुविधा पु¥याउन कठिनाइ भइरहेको छ। सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती र कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयमा छलफलसमेत हुनेछ। रासस