काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संसथा (आइक्यान) ले चार्टर्ड एकाउन्टेन्सी (सिए)को पाठ्यक्रम परिवर्तन गरेको छ। लेखाव्यवसायको नियमनकारी निकाय आइक्यानले सन् २०२५ देखि नै लागू हुनेगरी नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ।
इन्सिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स इन इंग्ल्याण्ड एण्ड वेल्ससँगको सहकार्यमा आईक्यानले नेपालका लागि सीएको पाठ्यक्रम परिवर्तन गरेको हो। नेपालमा सीएको परीक्षा तथा पाठ्यक्रम बाउने निकाय आईक्यानले विश्व बजारको माग अनुसारको जनशक्ति तयार पार्नेगरी पाठ्यक्रम परिवर्तन गरेको जानकारी दिएको छ।
नेपालमा नयाँ पाठ्यक्रम पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमश लागू हुने भएको छ। डिसेम्बर २०२५ देखि पहिलो र २०२६ को डिसेम्बरदेखि दोस्रो र २०२८ जुनदेखि तेस्रो तहका लागि नयाँ पाठ्यक्रम लागू हुनेछ।
हाल क्याप १, २ र ३ भएकोमा अबदेखि भने फाउन्डेसन, एप्लिकेसन र एड्भाइजरी तह हुनेछ। नामसँगै विषयवस्तुमा पनि व्याक हेरफेर भएको छ। यो बीचमा पूरानो पाठ्यक्रमबाट नयाँमा स्वीच हुने व्यवस्था पनि हुनेछ।
चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम लेखाव्यवसायको सर्वोच्च निकाय आईएफएसीबाटजारी भएको मापण्डमा रहेर पाठ्यक्रम विकास भएको आईक्यानले जानकारी दिएको छ।
नयाँ पाठ्यक्रममा भविष्यमूखी अवधारणालाई समेटिएको तथा स्थानीय ज्ञानको दायरा विस्तार गरिएको छ। तीन तहमा गरेर यसअघि १८ सय पूर्णांक भएकोमा अबदेखि १६ सयमा झारिएको छ। त्यस्तै पहिले स्थानीय कानून तथा अडिटको कुरा पहिले माथिलो तहमा मात्र भएकोमा नयाँमा आधारभूत तहमै राखिएको छ। १६ विषयमा ५ वटा करिब ३० प्रतिशत स्थानीय विषयवस्तु पाठ्यक्रममा समावेश भएको छ।
त्यस्तै इथिक्स, दिगोपना र प्रविधि जस्ता नयाँ विषयवस्तु थपिएका छन्। पछिल्लो समय अडिटमा यस्ता विषय पनि समावेस हुन थालेपछि आईक्यानले नयाँ पाठ्यक्रममा समावेश गरेको हो।
आईक्यानले परीक्षासँग सम्बन्धित केही नयाँ विषय पनि संशोधनको प्रस्ताव गरेको छ। परीक्षामा प्रश्न पढ्नका लागि पहिले १० मिनेटमा भएकोमा अबदेखि १५ मिनेट दिने प्रस्ताव गरेको छ। त्यस्तै यसअघि कुनै पनि समूहमा प्रत्येक विषयमा न्यूनतम ४० प्रतिशत नम्बर ल्याउनसुपर्ने र समग्रमा ५० प्रतिशत ल्याएपछि उत्तर्ण हुने व्यवस्था छ। यदि यसो नभएमा सबै विषयको परीक्षा दिनुपर्छि। तर यसमा कुनै एउटा विषयमा ६० प्रतिशत ल्याएमा भने त्यो विषय रिपिट नगरे पनि हुने व्यवस्था छ। यसमा संशोधन गर्दै ५५ प्रतिशत भएपनि त्यो विषय रिपिट नगर्ने प्रस्ताव गरिएको छ।
बदलिँदो विश्व बजारको माग अनुसारको जनशक्ति तयार पारी विश्वभर सान्दर्भिक हुनका लागि सहयोग गर्न भन्दै आईक्यानले पाठ्यक्रम संशोधन गरेको हो। आईक्याले विभिन्न देशका बोर्डसँग सम्झौता गरेर समकक्षता हुने व्यवस्था गरेको छ। नेपालबाट उत्तिर्ण भएकाले सम्बन्धित देशमा गएर स्थानीय कर प्रणालीको विषयमा अध्ययन गरेर सर्टिफिकेट लिएपछि अभ्यास गर्न पाउँछन्।
नेपालमा सीएको अध्ययन गर्नका लागि आईक्यानले तीन तहमा गरेर परीक्षा तथा प्रशासनिक शुल्क बापत करिब १ लाख ५० हजार जति लिन्छ। यसमा पहिलो तह ६ महिना, दोस्रो तह ९ महिना र तेस्रो तह ३ वर्षको हुन्छ। यो शुल्कमा विद्यार्थीले अनलाइन क्लास लिन पाउँछन्। यस बाहेक कोचिङ सेन्टरमा गएर पढ्ने विद्यार्थीको स्वेच्छिक लागत हो।