मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

ई-रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला : झलारी बजारमा बढ्दो महिला सहभागिता

images
सोमबार, वैशाख २९ २०८२
images
ई-रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला : झलारी बजारमा बढ्दो महिला सहभागिता

शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महरा र नगरपालिका–११ दीपनगरकी २८ वर्षीया अनिता कुवँर यसका प्रेरक उदाहरण हुन्।

images
images

काठमाडौं- कञ्चनपुरको झलारी क्षेत्रमा विद्युतीय ई-रिक्साको स्टेयरिङ सम्हाल्दै आत्मनिर्भर बन्ने महिलाको संख्या बढ्दै गएको छ। शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महरा र नगरपालिका-११ दीपनगरकी २८ वर्षीया अनिता कुवँर यसका प्रेरक उदाहरण हुन्।

images
images
images

आर्थिक कठिनाइका कारण गाउँकै समूह र सहकारीबाट ऋण लिएर ई-रिक्सा खरिद गरेकी महराले हाल मासिक ३५ हजार रुपैयाँभन्दा बढी कमाउँदै आएकी छन्। सुरुमा पाँच महिनामा नै ऋण चुक्ता गर्न सफल महाराले आफ्नो कमाइबाट छोराछोरीको शिक्षादेखि घरखर्चसम्म चलाउँदै आएकी छन्।

images
images

कक्षा १२ सम्म अध्ययन गरेकी महाराले सुरुमा निजी विद्यालयमा शिक्षिकाका रूपमा काम गरेकी थिइन्। 'त्यसबाट घर खर्च चलाउन धौधौ हुन थालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ,' उनले भनिन्, 'दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन।'

images
images

झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र ई-रिक्सा चलाउँथे। 'पुरुषजस्तै मैले पनि ई-रिक्सा चलाउने निधो गरेँ। समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ,' उनले भनिन्, 'ई-रिक्सा खरिद गरेर चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काट्थे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसला दिन्थे।'

दुई तीन महिना थोरै यात्रु चढे। त्यतिबेला उनलाई निकै तनाव भयो। यात्रुलाई सुरक्षित रूपमा तोकिएको रकम र गन्तव्यमा पुर्‍याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढ्न थाल्यो। अहिले महिला पुरुष सबैजना चढ्ने गरेका छन्।

यात्रु कम भएका बेला दिनमा एक हजार रुपैयाँजति र बढी भएका बेला दुई हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन्। उनका श्रीमानले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थालेका छन्। दुवै जनाले कमाइ गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको छ।

धनमतीजस्तै शुक्लाफाँटा नगरपालिका-११ दीपनगरकी २८ वर्षीया अनिता कुवँरले पनि दुई वर्षदेखि ई-रिक्सा चलाउँदै आएकी छन्। कक्षा १२ सम्म अध्ययन गरेकी कुवँरको आर्थिक अवस्था कमजोर थियो। साँझ बिहानको छाक टार्न धौधौ हुने गर्थ्यो। श्रीमानले ढुवानीका साधन चलाउँथे। त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन।

'घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ,' उनले भनिन्, 'दुई लाख रुपैयाँ ऋण लिएर, त्यसैबाट ई-रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ।'

ई-रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उनले बताइन्। 'ई-रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमान्को भर पर्नु परेको छैन,' उनले भनिन्, 'कमाइ गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेकी छु।'

सहकारीमा दैनिक रकम बचत गर्न थालेकी उनले त्यस रकमबाट घर निर्माण गर्ने योजना बनाएकी छन्। उनी मासिक ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाउँदै आएकी छन्। यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई-रिक्सा खरिद गरी चलाउन थालेका छन्।

पछिल्लो एक वर्षमा ई-रिक्सा प्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताए। उनका अनुसार झलारी बजारमा मात्रै छ जना बढी महिला ई-रिक्सा चलाएर जीविका चलाउँदै आएका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend