मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

९ महिनामा ३ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह, आयात कर्जा ६०.६ प्रतिशत र सेयर कर्जा ३७.८ प्रतिशतले बढ्यो

आइतबार, वैशाख २८ २०८२
९ महिनामा ३ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह, आयात कर्जा ६०.६ प्रतिशत र सेयर कर्जा ३७.८ प्रतिशतले बढ्यो

चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेपको औषत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरूको ५.२२ प्रतिशत र वित्त कम्पनीहरूको ६.२४ प्रतिशत रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरूले निजी क्षेत्रतर्फ ३ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत वर्षको यसै अवधिमा बैंकहरूले २ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। गत वर्षको तुलनामा निजी क्षेत्रतर्फ ८.३  प्रतिशतले कर्जा लगानी बढेको छ।

यस अवधिमा भएको प्रवाह कर्जामध्ये औद्योगिक उत्पादनतर्फको कर्जा ९.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। 

यस अवधिमा सबैभन्दा धेरै आयात कर्जा ६०.६ प्रतिशत र सेयर कर्जा ३७.८ प्रतिशतले बढेको छ। यस्तै व्यक्तिगत आवासीय कर्जा ४.९ प्रतिशत र अधिविकर्ष कर्जा १२.१ प्रतिशतले बढेको छ। नगद प्रवाह कर्जा ५.२ प्रतिशत र हायरपर्चेज कर्जा ४.१ प्रतिशतले बढेको छ। 

कर्जा विस्तारमा वृद्धिसँगै ब्याजदर पनि न्यूनतम बिन्दुमा आएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर ८.२२ प्रतिशत आएको थियो।

गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर १०.५५ प्रतिशतले बढेको थियो। यस्तै यस अवधिमा विकास बैंकहरूको कर्जाको ब्याजदर ९.५९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जाको ब्याजदर १०.४० प्रतिशतमा आएको छ। बैंकहरूको निक्षेपको ब्याजदर निरन्तररुपमा घट्दै गएकाले कर्जाको ब्याजदर एकल बिन्दुमा आएको हो।

चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेपको औषत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरूको ५.२२ प्रतिशत र वित्त कम्पनीहरूको ६.२४ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूको ९१ दिने ट्रेजरी बिल्सको ब्याजदर ३.०६ प्रतिशत र अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा आएको छ।

यस अवधिमा वाणिज्य बैंकहरूको आधार दर ६.२९, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.१७ प्रतिशतमा आएको छ। 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend