मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पुँजी बजारमा एक वर्षमा उल्लेख्य वृद्धि, नेप्से ३१.३२ प्रतिशतले उकालो

आइतबार, वैशाख २८ २०८२
पुँजी बजारमा एक वर्षमा उल्लेख्य वृद्धि, नेप्से ३१.३२ प्रतिशतले उकालो

काठमाडौं- आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको तथ्यांक हेर्दा पुँजी बजारमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २०२५.७१ बाट उकालो लाग्दै २६६२.०८ मा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.३२ प्रतिशतको वृद्धि हो।

धितोपत्र बजार पुँजीकरण पनि गत वर्षको चैत मसान्तमा रहेको ३२ खर्ब १२ अर्ब १ करोड रुपैयाँबाट बढेर ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बजार पुँजीकरणमा १२ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको छ।

२०८१ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७० पुगेको छ। तीमध्ये १ सय ३२ कम्पनी बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका कम्पनीहरू रहेका छन्। 

धितोपत्र बजार पुँजीकरणको वर्गीय हिस्साको हिसाबले बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको हिस्सा ५२.७ प्रतिशत रहेको छ। त्यसपछि जलविद्युत् कम्पनीहरूको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको ७.९ प्रतिशत, व्यापारिक संस्थाको ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४ प्रतिशत, होटलहरूको २.६ प्रतिशत तथा अन्य समूहको हिस्सा १०.५ प्रतिशत रहेको छ।

यस अवधिमा सूचीकृत ८ अर्ब ७२ करोड कित्ता सेयरहरूको कुल चुक्ता पुँजी ८५९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा मात्र ५२ अर्ब १५ करोड रुपैयाँ बराबरका विभिन्न प्रकारका धितोपत्रहरू थप सूचीकृत भएका छन्। जसमा बोनस सेयर, साधारण सेयर, हकप्रद सेयर, म्युचुअल फन्ड, एफपीओ र अन्य सेयर समावेश छन्।

साथै नेपाल धितोपत्र बोर्डले पनि सो अवधिमा कुल २८ अर्ब ५८ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्काशनको लागि स्वीकृति दिएको छ। यसमा म्युचुअल फन्ड, हकप्रद सेयर, डिबेन्चर तथा साधारण सेयरहरू समावेश छन्।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend