कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक खेतीमा संलग्न भएका छन्। ६ वर्षदेखि चौधरीले तरकारी खेती गर्दै आएका छन्। ४ वर्ष मलेसियामा काम गरेर फर्केका चौधरीले वर्षमा तरकारी खेतीबाट ७ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्। वैदेशिक रोजगारीबाट फर्केर चौधरीले ४ कठ्ठा जग्गा खरिद गरेका थिए।
सोही जग्गामा बाह्रै महिना तरकारी खेती गर्दै आएका छन्। ‘आफूसँग ६ कठ्ठा जग्गा थियो ७ जनाको परिवारको खर्च चलाउन चुनौती भएपछि घर फर्केर ४ कठ्ठा जग्गा थपेँ’ उनले सुनाए। तरकारी खेती गर्ने तौरतरिका भए पनि उनीसँग आर्थिक अभाव थियो। वैदेशिक रोजगारीबाट कमाएको केही रकम लगानी गरी व्यावसायिक तरकारी खेती गर्ने निर्णय चौधरीले गरे।
तरकारी खेतीमा परिवारका सदस्यले साथ दिने बचन दिएपछि त्यसमै होमिएको उनी सुनाउँछन्। पहिलो वर्ष नै सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ। गत हिउँदमा मात्रै चौधरीले काउलीबाट ८० हजार र लहरेबालीबाट ६० हजार रुपैयाँ आम्दानी गरेका छन्। मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी गर्छन्।
बैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षातका बेला लौका, काँक्रा, फर्सि र हिउँदका बेला काउली, गोलभेडा, खुर्सानीको खेती हुन्छ। परिवारका ७ जनाको पूरै खर्च एवं बालबालिकाको विद्यालय खर्च तरकारी खेतीले धानिँदै आएको चौधरीले बताउ। चौधरीले वैदेशिक रोजगारीबाट फर्केर किनेको ४ कठ्ठा र पहिलेदेखि नै स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा गरी १० कठ्ठा जग्गा छ।
४ कठ्ठा जग्गामा बाह्रैर महिना तरकारी खेती हुन्छ। ६ कठ्ठा जग्गामा गहुँ, धानलगायत खेती हुन्छ। मोटरसाइकलमा तरकारी राखेर चौधरीले महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्दै आएका छन्। तरकारीका लागि बारी तयारी गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुरयाउनका लागि पुरै परिवार खटिने गरेको छ।
‘वैदेशिक रोजगारीमा हुँदा तलब मात्रै पारिश्रमिकका रूपमा पाइन्थ्यो, व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत गर्यो, त्यति नै प्रतिफल हासिल हुन्छ’ उनी भन्छन्, ‘टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ, दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्। विदेशमा त्यस्तो केही हुँदैनथ्यो, स्वदेशमै जति कमाइ हुन्छ यसमै सन्तुष्ट छु। अब फर्केर विदेश जादिनँ।’
थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकका रूपमा प्रमाणपत्रसहित पुरस्कृत गरेको छ। वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानका रूपमा चिन्छन्।
‘थोरै जग्गामा बाह्रै महिना व्यावसायिक रुपमा तरकारी खेती गरेर गतिलो आम्दानी गर्ने किसानमा मुस्कान पर्नुहुन्छ’ वडा अध्यक्ष भन्छन्, ‘उहाँको कार्यलाई अरू किसानले अनुसरण गरेर काम गर्न सक्नुपर्छ।’ पिपलाडी नगरपालिको सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित छ। यहाँका ५० बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। रासस