काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख आर्थिक योजनाहरूलाई सन्तुलनमा ल्याउन अमेरिकाका धनी नागरिकहरूका लागि करका दर वृद्धि गर्ने तयारी गरिरहेका छन्।
वार्षिकरूपमा कम्तीमा २.५ मिलियन डलर आम्दानी गर्ने व्यक्तिहरू वा ५ मिलियन डलर कमाउने दम्पत्तिहरूका लागि नयाँ ३९.६ प्रतिशत करको दर कायम गर्ने प्रस्ताव गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
ट्रम्पले गएको बुधबार सो आग्रह गरेका थिए। साथै उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डका व्यवस्थापकहरूलाई दिइने कर छुट (ट्याक्स ब्रेक) हटाउने चाहना पनि पुनः दोहोर्याएका थिए। ट्रम्पको चाहना पूरा हुनेगरी करसम्बन्धी विधेयकसमेत तयार भइसकेको जनाइएको छ।
करका नयाँ दरको प्रस्तावअनुसार साना व्यवसायहरूलाई दिइने कर छुटमा केही विस्तारसहित आउने हो कि होइन भन्नेमा अमेरिकीहरूले चासो दिइरहेका छन्। यदि ट्रम्पको ३९.६ प्रतिशत करको दर अनुमोदन भएमा सन् २०१७ अघिको जस्तै उच्च दरमा पुग्नेछ। हालको व्यक्तिगत उच्चतम कर दर ३७ प्रतिशत हो।
धनी नागरिकहरूका लागि कर वृद्धि गर्नेबारे ट्रम्पले विभिन्न मिश्रित संकेतहरू दिएका छन्। यसअघि भने उनले यस्ता करको दरले धनीहरूलाई अन्य देशमा बसाइँ सर्न प्रेरित गर्न सक्ने वा आफूहरूलाई चुनावी रूपमा घाटा हुन सक्ने बताएका थिए। यसअघि राष्ट्रपति हुँदा आफैले घटाएको करको दर मिलान हुनेगरी उनले थप तयारी गरिरहेको बताइएको छ।
कम आम्दानी भएका अमेरिकीहरूको स्वास्थ्यका खर्च र विभिन्न सामाजिक सुरक्षाका लागि गरिने खर्चमा कटौती गर्नुपर्ने दबाबसमेत ट्रम्पमाथि बढिरहेको छ। अहिले धनीहरूका लागि कर बढाउँदा ट्रम्पको सन् २०१७ को कर कटौती स्थायी बनाउने र टिप्स तथा ओभरटाइम तलबमा कर हटाउनेजस्ता अभियान पूरा गर्ने सम्भावना भने बढ्छ।
विभिन्न प्रारम्भिक अनुमानअनुसार करका नयाँ दर लागु गर्दा १० वर्षमा अमेरिकामा ६७.३ बिलियन डलर राजस्व संकलन हुनेछ। 'क्यारिड इन्ट्रेस्ट' मा दिइएको छुट हटाउँदा ६.७ बिलियन डलर थप संकलन हुने अनुमान गरिएको छ।
कर वृद्धि गर्नु रिपब्लिकनहरूको परम्परागत नीतिको भने विपरीत हो। ट्रम्पले यस्तो प्रस्ताव अघि सारेर पार्टीलाई आफ्नै पपुलिस्ट छवितर्फ डोर्याएको आरोपहरू पनि लागिरहेको छ।