मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

निर्माण, घरजग्गा र व्यापार क्षेत्रको खस्किँदा जीडीपीमा कृषिको हिस्सा लगातार दोस्रो वर्ष बढ्ने

आइतबार, वैशाख २८ २०८२
निर्माण, घरजग्गा र व्यापार क्षेत्रको खस्किँदा जीडीपीमा कृषिको हिस्सा लगातार दोस्रो वर्ष बढ्ने

निर्माण र व्यापारको स्थिर मूल्यमा चार वर्षअघिको जति पनि उत्पादन पुगेको छैन। गत वर्षको तुलनामा यो वर्ष वृद्धि हुने भएपनि गत वर्ष ऋणात्मक भएकाले चार वर्षअघिको जति यी मुख्य क्षेत्रको उत्पादन वृद्धि भएको छैन।

काठमाडौं- पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर खस्किँदै आएको थियो। सेवा क्षेत्रको तीव्र विस्तारले कृषि क्षेत्रको योगदान र हिस्सा जीडीपीमा निरन्तर खस्किँदै आएको थियो।

१४ वर्षअघि कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा ३३.४५ प्रतिशत थियो। जुन निरन्तर घटेर २०७५/७६ मा २४.९२ प्रतिशतमा सीमित भएको थियो। त्यसपछि कोभिड महामारीका कारणले गर्दा फेरि अन्य क्षेत्र संकुचित हुँदा कृषिको हिस्सा बढेर २५.८० प्रतिशत पुग्यो २०७७/७८ मा। त्यसपछिका वर्ष फेरि २४ प्रतिशतमा झरेपनि पछिल्ला दुई वर्ष भने लगातार योगदान बढ्ने देखिएको छ।

गत आर्थिक वर्ष त्योभन्दा अघिल्लो वर्षको तुलनामा हिस्सा बढेर २४.७१ प्रतिशत पुगेको थियो भने यो वर्ष पनि गत वर्षको भन्दा बढेर २५.१६ प्रतिशत पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। तर यो हिस्सा कृषि क्षेत्रको उत्पादकत्वमा सुधार भएरभन्दा पनि अन्य क्षेत्र संकुचित हुँदाको प्रभाव हो।

अर्थतन्त्रका विभिन्न समूहमा सबैभन्दा प्रभावशाली समूह कृषि भएपनि अन्य केही क्षेत्रको बलियो उपस्थिति छ। यीमध्ये कृषिको उत्पादन वृद्धि नियमित र स्वभाविक बर्सेनि भइरहेको छ। पछिल्ला दुई वर्ष धान उत्पादनमा भएको सुधारले पनि कृषिको उत्पादन घट्न पाएको छैन। Untitled design (6).png

तर यही समयमा भने पछिल्ला दुई वर्षदेखि केही मुख्य अन्य समूहको उत्पादन खस्किएको छ। निर्माण र व्यापारको स्थिर मूल्यमा चार वर्षअघिको जति पनि उत्पादन पुगेको छैन। गत वर्षको तुलनामा यो वर्ष वृद्धि हुने भएपनि गत वर्ष ऋणात्मक भएकाले चार वर्षअघिको जति यी मुख्य क्षेत्रको उत्पादन वृद्धि भएको छैन। 

जीडीपीमा १६ प्रतिशतस्मम हिस्सा बनाइसकेको व्यापारको हिस्सा यो वर्ष १४.५५ प्रतिशतमा सीमित हुने, निर्माण क्षेत्रको पनि ५.२५ प्रतिशतमा सीमित हुने, रियलस्टेटको हिस्सा पनि घटेर ८.७२ प्रतिशतमा खुम्चिएको छ। सेवा क्षेत्रकै शिक्षा समूहको योगादान पनि गत वर्षको तुलनामा घटेर ७.८७ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। 

सेवा क्षेत्रका मुख्य समूहको कमजोर उपस्थितिका कारण कृषिको योगदान बढ्न गएको छ। कृषिको उत्पादनले समग्र आर्थिक वृद्धिदरलाई पनि सकारात्मक प्रभाव पार्दै आएको छ। 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend