शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

६४ वर्षमा पनि जाँगरिला युक्ति, तरकारीखेतीबाट गरिरहेका छन् वार्षिक १० लाखभन्दा बढी आम्दानी

images
शुक्रबार, वैशाख २६ २०८२
images
६४ वर्षमा पनि जाँगरिला युक्ति, तरकारीखेतीबाट गरिरहेका छन् वार्षिक १० लाखभन्दा बढी आम्दानी

युक्तिमात्र हैन उनकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि। परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ।

images
images

सुनसरी- उमेरले ६४ वर्ष, जाँगर तन्नेरिका जस्तै। अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ। बराहक्षेत्र नगरपालिका-८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना। बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै। उनको मेहनत गज्जबको छ। एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न।

images
images
images

युक्तिमात्र हैन उनकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि। परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ। चौधरी भन्छन्, 'हाल चार बिघामा मौसमीअनुसारको विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेका छौँ। परिवारको साथ पाएको छु, बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ।'

images
images

उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन। परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक १० लाख रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। ६ वर्षअघि उनले एक कट्ठा जमिनमा तरकारीखेती सुरु गरेका थिए। त्यसको दुई वर्षपछि रितिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यममा रमाइरहेका छन्।

images
images

'आराम गरेर घरमा बस्ने उमेर हो तर पनि पहिलेदेखि काम गर्ने बानी बस्यो। काम नगरी बस्नै सकिँदैन', चौधरी भन्छन्, 'सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ। परिवारले साथ दिएकै छन्। जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला।'

उनको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रापालन गरिरहेका छन्। यसले कृषिमा सहयोग पुगिरहेको छ। चौधरीले भने, 'मैले घरैमा पालेको गाई, गोरु र बाख्राबाट प्राप्त हुने गोबर संकलन गर्छु। त्यही जैविक मललाई तरकारीखेतीमा प्रयोग गर्छु। रासायनिक मलको प्रयोग घटाएर स्वस्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुग्छ। यसले आत्मनिर्भता र दिगोपना कायम राख्न निकै सघाउ पुगेको छ।'

उनको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको बताए। 'तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफै फार्ममै लिन आउँछन्, जहाँ हामीले बजार मूल्यभन्दा १० रूपैयाँ कममा तरकारी दिने गरेका छौँ। यसले हामीलाई सहज पनि हुन्छ। नाफा घाटाको धेरै चिन्ता गर्नुपर्दैन', चौधरीले भने।

आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनातिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हुँदै आएको छ। चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन्। यसले थोरै भए पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ।

पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ। गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले एक लाख रूपैयाँको अनुदान प्रदान गरेको थियो। चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ।

बराहक्षेत्रका अधिकांश स्थानीयवासी तरकारीखेतीमा आत्मनिर्भर छन्। बराहक्षेत्र-८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन्। 'थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ। आफ्नै बारीमा उत्पादन भएको अर्गानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसीबसी आम्दानी पनि गर्न पाइने', उनले भने, 'विभिन्न थरीका तरकारी बेचेर हरेक वर्ष तीन लाख रूपैयाँभन्दा बढीको कारोबार गरिरहेको छु।'

बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताए। उनले भने, 'नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ।'

जिल्लामा हाल आठ हजार १ सय ५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए। जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend