मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

दुईदिनको वृद्धिपछि पुन: ओरालोतर्फै सेयर बजार, कारोबार रकम भने बढ्यो

बिहीबार , वैशाख २५ २०८२
दुईदिनको वृद्धिपछि पुन: ओरालोतर्फै सेयर बजार, कारोबार रकम भने बढ्यो

आज ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

काठमाडौं- लगातार दुईदिन बढेको सेयर बजारमा पुन: गिरावट आएको छ। यो साता आइतबार र सोमबार घटेर मंगलबार र बुधबार बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार भने ओरालोतर्फै लागेर बन्द भएको छ।

बिहीबार १२.०४ अंकले घटेर बजार २६६१.६४ बिन्दुमा ओ‌र्लँदा ११ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको छ। बुधबार १० अर्बको कारोबार भएकोमा बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको हो।

आज ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको सेयर बजारमा यो साता आइतबार ३.३४ अंकको गिरावट आएको थियो भने सोमबार बजार ९.९८ अंकले घटेर २६१०.४० बिन्दुमा झरेको थियो। 

मंगलबार बजार १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुगेको थियो भने बुधबार पनि वृद्धिकै निरन्तरता पाउँदा बजार ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा उक्लिएको थियो। बुधबार बजारमा १० अर्ब ५१ करोडको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend