शनिबार, असोज ५ गते २०८१    
images
images

बन्द फूलबारी रिसोर्ट खुलाउन प्रदेश सरकारको चासो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
बन्द फूलबारी रिसोर्ट खुलाउन प्रदेश सरकारको चासो

सन् १९९८ देखि सञ्चालनमा आएको यस होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ। सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको होटेल पुनः सञ्चालनका लागि पहल भइरहेको छ।

images
images

पोखरा- पर्यटकीय नगरी पोखरामा कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो फूलबारी रिसोर्टले। पाँचतारे प्लस डिलक्ससमेत रहेको यो रिसोर्टलाई नेपालमा मात्र नभइ दक्षिण एशियाकै नमूना मानिन्थ्यो।

images
images
images

मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द यो रिसोर्ट अहिले भने सुनसान छ। तत्कालीन समयमा झण्डै ४ सय ५० जनालाई रोजगारी दिएको यस रिसोर्टमा भएको संरचना जोगाउन र कुर्नका लागि हाल सुरक्षाकर्मीसहित १६ जना कर्मचारी छन्। रिसोर्ट तथा परिसरको सरसरफाइ कार्यलाई निरन्तरता दिइएको रिसोर्टका इञ्जिनीयरिङ विभाग प्रमुख धनराज पुरीले जानकारी दिए।

सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको रिसोर्ट पुनः सञ्चालनका लागि व्यवस्थापनले पहल गरिरहे पनि कोरोना महामारीका कारण कहिलेबाट पुनःसञ्चालनमा आउँछ भन्ने यकिने हुनसकेको छैन। पुरीका अनुसार पुनः सञ्चालनका लागि न्यूनतम नौ महिनादेखि एक वर्षसम्म ममर्त तथा पुनःनिर्माणका काम लाग्ने अनुमान गरिएको छ।

सन् १९९८ देखि सञ्चालनमा आएको यस रिसोर्ट २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ। उक्त क्षेत्रफलमध्ये फूलबारी रिसोर्टकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ।

images

रिसोर्टमा सुविधा सम्पन्न १ सय ६५ कोठा रहेका छन्। होटल सञ्चालनको सुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो। सुरुमा लगभग पाँच वर्ष रिसोर्ट राम्रैसँग चले पनि सन् २००४ पछिका वर्ष भने सन्तोषजनक हुन सकेन।

त्यसयता समय समयमा भएका जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी सशस्त्र द्वन्द्वको सुरुवात र चरमोत्कर्ष, दरबार हत्याकाण्डलगायतका घटना क्रमको असर रिसोर्टमा पनि प्रत्यक्ष परेको थियो। यी विभिन्न समस्यासँगै खर्चालु पर्यटकको आगमन घट्दै गएसँगै प्रभावित बनिरहेको रिसोर्टमा थपिएको मजदूर समस्याले रिसोर्ट अन्ततः बन्द हुन पुगेको हो।

यसबीचमा रिसोर्टका सञ्चालकदेखि विभिन्न समूहले व्यवस्थापनको जिम्मा लिए पनि रिसोर्टले गति लिन सकेको थिएन। झण्डै चार अर्ब लगानी भएको यस रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्य छन्। उनी तत्कालीन राजा वीरेन्द्रसँग निकट थिए। दरबार हत्याकाण्ड, देशमा द्वन्द्वको अवस्था आदिले सबै क्षेत्र प्रभावित भएसँगै रिसोर्टको अवस्था पनि त्यही रुपमा प्रभावित भएको अनुमान गरिन्छ। पर्यटकको आगमन घट्नु, ऋण बढ्दै जानुलगायतका कारणसँगै व्यवस्थापन र मजदूरबीचको द्वन्द्वले पनि रिसोर्ट बन्द हुन पुगेको जानकार बताउँछन्।

पर्यटनमन्त्री कँडेलद्वारा स्थलगत अवलोकन
 
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले बन्द अवस्थामा रहेको फूलबारी रिसोर्टको स्थलगत अवलोकन गरेका छन्। रिसोर्टलाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारकातर्फबाट गर्न सकिन्छ कि भनेर अवलोकन गरेको उनले बताए।
 
'रिसोर्टको पुनः सञ्चालनका लागि रिसोर्ट सञ्चालक र सरकारका तर्फबाट के के गर्न सकिन्छ त्यसका लागि छलफल गर्न हामी तयार छौं', उनले भने, 'रिसोर्ट सञ्चालनसँगै पोखरामा पर्यटकलाई गुणस्तीय सेवा प्रवाहसँगै यसबाट झण्डै साढे चार सय व्यक्तिका लागि रोजगारी पनि सिर्जना हुने देखिन्छ।'

फूलबारी रिसोर्ट यसका लगानीकर्ताको मात्र नभइ पोखराको पनि गौरब भएको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई यसलाई पुनः सञ्चालनमा ल्याउनु आवश्यक भएको धारणा राख्छन्। 

ठूलो लगानीको फूलबारी रिसोर्ट बन्द हुँदा त्यसले समग्र पोखराका लागि पनि राम्रो सन्देश नदिने बताउँदै उनले बन्द हुनुका कारण लगायतका विषयमा समीक्षा गर्दै देखिएका समस्याको समाधान गरी पुनःसञ्चालनमा ल्याउनुपर्ने बताए। फूलबारी रिसोर्ट पुनःसञ्चालनसँगै पोखरामा लगानीका अन्य वातावरण पनि सिर्जना हुने जनाउँदै उनले भौगालिक अवस्थिति आदि कारणबाट पनि उपयुक्त स्थानमा रिसोर्ट रहेको उल्लेख गरे। रासस 


प्रकाशित : मंगलबार, माघ २५ २०७८०८:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend