काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादी विरुद्ध विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियार सर्वोच्च गएको हो।
सल्यानको शारा नगरपालिका वडा नम्बर १५ स्थित सुन्दरडाँडा थांनेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको अख्तियारको भनाइ छ। सोही कारण आयोगले इञ्जिनियर पुनविरुद्ध ७ लाख १४ हजार ४१ रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो।
तर, विशेष अदालतले सफाइ दिएपछि त्यसविरुद्ध आयोगले मंगलबार पुनरावेदन गरेको हो। यसैबीच, आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह, नेपाल मिडिया हाउसका प्रबन्ध निर्देशक नवराज निरौलासमेत ३ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
उक्त हाउसउपर गैरकानुनी लाभ तथा राज्यलाई हानि पुर्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने कामका निम्ति खरिद प्रक्रियासम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशनमा झुठा विवरण पेश गरी भुक्तानी लिने र दिने दुवैलाई विपक्षी बनाएर मंगलबार आरोपपत्र दायर गरिएको हो। रासस