शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकललन सुरू

images
सोमबार, वैशाख २२ २०८२
images
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकललन सुरू
फाइल तस्बिर।

एक्यापले संरक्षण नियमावलीको अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा संकलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।

images
images

मुस्ताङ- मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा संकलन सुरू गरिएको छ। मुस्ताङको थासाङ-१ टुकुचे, थासाङ-२ कोवाङ र घरपझोङ-४ जोमसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा संकलन फुकुवा गरेका हुन्। यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सीएमसी)ले यार्सा संकलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए।

images
images
images

सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीको अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा संकलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। हालसम्म मुस्ताङका ३ वटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा संकलन अनुमतिपत्र लिएका छन्।

images
images

अरू समिति पनि क्रमशः अनुमतिका लागि आउने क्रममा रहेको उनले बताए। मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइन्छ। मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा बैशाखको पहिलो सातादेखि यार्सा संकलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए। 

images
images

थासाङको कोवाङलेमा यार्सा संकलनका लागि स्थानीयलाई ३ हजार र जिल्लाबाहिरका नागरिकहरूलाई ६ हजार रुपैयाँ शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताउँछन्। अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा संकलन अनुमतिपत्र लिइसकेका छन्। कोवाङ समितिअन्तर्गत मूली खर्क, मार्चेलेकलगायत आधा दर्जन पाटनमा यार्सा संकलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाइ छ।

यसैगरी, थासाङको टुकुचेमा पनि धमाधम यार्सा संकलन पुर्जि वितरण भइरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीको भनाइ छ। टुकुचे समितिबाट ३ बैशाखदेखि यार्सा पुजि वितरण भइरहेकामा अहिलेसम्म ५५ जनाभन्दा बढी यार्सा संकलन गर्न लेकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिए। थासाङको कोवाङ समितिले स्थानीयलाई १ हजार र अन्य व्यक्तिलाई ३ हजार शुल्क उठाउने गरेको उनको भनाइ छ। 

थासाङको टुकुचे समितिबाट पुर्जी लिएकाले मार्चेलेक, बतासेलेक, चिउदोखर्क र धम्पुसलेकमा यार्सा संकलन गर्न पाइन्छ। मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि सोमबारदेखि यार्सा संकलन सुरू भएको संरक्षण व्यवस्थापन समिति जोमसोमका सचिव पवन गुरूङले जानकारी दिए। एक्यापको अनुमतिमा समितिमार्फत पहिलो दिन ४० जनालाई यार्सा संकलन अनुमतिपत्र वितरण गरिएको छ। जोमसोम संरक्षण व्यवस्थापन समितिले संकलनलाई स्थानीय कुरिया दर्ता भएकोलाई ४ हजार र कुरिया दर्ता नभएको तथा अन्यलाई ६ हजार  रुपैयाँ  शुल्क लिने गरेको छ।

यार्सा संकलन पास वितरण एक हप्तासम्म रहने छ। थासाङ र घरपझोङ गाउँपालिकामा यार्सागुम्बा संकलन सुरू हुँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्सा संकलन कार्य सुरू हुनबाँकी छ। मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका सचिव लाक्पाटसी गुरूङका अनुसार मुक्तिनाथ समितिले अझै यार्सा संकलनका लागि एक्यापसँग पूर्वस्वीकृतिसमेत लिएको छैन।पुर्जी वितरणका लागि चाँडै समितिको बैठक बसेर निर्णय लिइने उनको भनाइ छ।

‘हामी कहाँ अन्यत्रको भन्दा केही ढिलो सुरू हुन्छ, यसको कारण उच्चलेक र पाटनमा हिउँ जमेको छ’ सचिव गुरूङले भने, ‘सम्भवतः जेठको दोस्रो साता यार्सा संकलन फुकुवा गर्ने कुरा छ, हामी त्यही अनुसारको सुविधा दिनेगरी अघि बढ्छौँ।’ मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले आफ्नो मातहतमा पर्ने मुक्तिनाथलेक, रिसम्बालेक, नेरलेक र लुप्रालेकलगायतमा यार्सा संकलन पुर्जी दिने गर्छ। गत वर्ष समितिले १ जेठदेखि यार्सा संकलन अनुमति दिएको र यो वर्ष केही ढिला हुनसक्ने समितिले जनाएको छ।

गत वर्ष स्थानीयलाई २ हजार र अन्यलाई ७ हजार शुल्क लिएको सचिव गुरूङले जानकारी दिए। मुस्ताङका अन्य लेकमा पनि आंशिक रूपमा यार्सा संकलन हुने गरेको छ। एक्यापको अनुमतिमा सम्बन्धित समितिले संकलन गरेको यार्सा संकलन शुल्क समितिले सामाजिक कार्यका लागि खर्च गर्न पाउने अधिकार छ। मुस्ताङमा एक्यापले १५ असारसम्म उच्चलेक र पाटनमा यार्सा संकलन गर्न पाउनेगरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिलाई अनुमति प्रदान गरेको हो।

यार्सा संकलन अवधिभर सम्भावित सुरक्षा जोखिम र दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने र संकलकलाई सचेत बनाउने, वन्यजन्तु तथा अन्य वन पैदावारहरूको संरक्षणका लागि चोरी-सिकारी र अवैध गतिविधि हुन नदिने, वन डेढेलो हुनबाट रोक्ने र उच्चलेक र पाटनमा फोहोर प्रदूषण गर्न नपाइने गरी संकलकलाई सचेत गराइएको छ।एक्याप, डिभिजन वन कार्यालय, संरक्षण व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले सम्बन्धित स्थानमा नियमित यार्सा संकलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरेका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend