शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रकम र समय लुकाउँदै एयरबस ३२० को इन्जिन भाडामा लिन कम्पनी छनोट

सोमबार, माघ २४ २०७८
रकम र समय लुकाउँदै एयरबस ३२० को इन्जिन भाडामा लिन कम्पनी छनोट

काठमाडौं- नेपाल वायु सेवा निगमले एयरबस ३२० नाइन एन एकेडब्लु जहाजको बिग्रिएको इन्जिन मर्मत नगर्दासम्मका लागि भन्दै इन्जिन भाडामा लिने भएको छ।

निगमले २१ दिनका लागि इन्जिन भाडामा लिनका लागि झन्डै एक महिनाअगाडि सूचना गरेको थियो। इन्जिन भाडामा लिन भएको टेन्डरमा सहभागी कम्पनीमध्ये निगमले एमएस एमटियू मेन्टेनेन्स लिज सर्भिस बीभी कम्पनी छनोट भएको भन्दै विज्ञप्ती जारी गरेको छ।

उक्त जहाज पुस १३ गतेदेखि कतार विमानस्थलमै रोकिएको छ। जहाज अवतरणपछि पार्किङमा लैजाने क्रममा जहाजको इन्जिनमा समस्या देखिएको थियो। इन्जिन निर्मात कम्पनीले इन्जिन मर्मत गर्नुपर्ने भनेको थियो। सोहीअनुसार इन्जिन मर्मत नहुँदासम्मका लागि इन्जिन भाडामा लिने भन्दै टेन्डर भएको थियो।

इन्जिन भाडामा लिने टेन्डर पनि निगम सञ्चालक बोर्डबाट स्वीकृत नभएकै अवस्थामा कार्यकारी अध्यक्षको क्षेत्राधिकारभित्र बसेर २१ दिनको लागि इन्जिन भाडामा लिने गरी टेन्डर भएको थियो।

तर, टेन्डर भएर कम्पनीले आवेदन दिइसेकेपछि कार्यकारी अध्यक्ष युवराज अधिकारीले केही समयअगाडि बसेको सञ्चालक समितिको बैठकमा इन्जिन भाडामा लिने विषय अनुमोदन गराएको स्रोतको भनाइ छ। सोहीअनुसार अहिले तीन महिनाको लागि इन्जिन भाडामा लिने गरी कम्पनी छनोट भएको निगम स्रोतको भनाइ छ।

निगम कार्यकारी अध्यक्ष अधिकारीलाई बिजनेश न्युजले इन्जिन भाडामा लिने सम्झौता कति महिनाको लागि भएको हो र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो? भनेर प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा अधिकारीले निगमकै कर्मचारी केबी थापासँग सूचना लिनु भन्ने जवाफ दिए। तर केबी थापाले पनि यो विषयमा निगमकै अर्का कर्मचारी पारस खड्कासँग सोध्नु भनेर पन्छिए। खड्काले भने फोन उठाएनन्।

निगमसँग कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो भनेर सूचना माग्न थालेपछि सोमबार निगमले कम्पनीको नाममात्रै राखेर सूचना जारी गरेको छ।

यस विषयमा निगमकी प्रवक्ता अर्चना खड्कालाई कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो भनेर प्रश्न गर्दा उनले पनि नेपाल वायु सेवा निगमको आर्थिक विनियमावलीअनुसार कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो उक्त विवरण सार्वजनिक गर्नु नपर्ने  कानूनी व्यवस्थाअनुसार विवरण सार्वजनिक नभएको बताइन्।

उता सार्वजनिक खरिद अनुगमनका कार्यालयका सहप्रवक्ता टिका राज पोखरेलले कम्पनी छनोट नहुँदासम्म विवरण सार्वजनिक गर्न नमिल्ने र कम्पनी नै छनोट भएपछि भने विवरण सार्वजनिक गर्नुपर्ने बताए।

निगमले जारी गरेकै सूचनालाई आधार मान्ने हो भने कम्पनी छनोट भइसकेको छ। कम्पनी छनोट भएर इन्जिन भाडामा लिने कामसमेत अगाडि बढेको निगमले जारी गरेकै सूचनामा उल्लेख छ। यस्तोमा कति समय र कुन दरमा इन्जिन भाडामा लिन लागेको हो भन्ने नखुलाएर निगममा भ्रष्ट्राचारको बाटो खोजेको देखिएको छ। 


प्रकाशित : सोमबार, माघ २४ २०७८०९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend