मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

स्रोत परिचालनमा देखिएन राजनीतिक सुझबुझ, ३६ प्रतिशत पुग्यो कुल राष्ट्रिय बचत, दुई वर्षदेखि स्रोत सुविधा सकारात्मक

बिहीबार , वैशाख १८ २०८२
स्रोत परिचालनमा देखिएन राजनीतिक सुझबुझ, ३६ प्रतिशत पुग्यो कुल राष्ट्रिय बचत, दुई वर्षदेखि स्रोत सुविधा सकारात्मक

देशभित्र उपलब्ध बचत जति पनि लगानी नभएको भन्ने देखाउँछ। यस्तो अर्थतन्त्रलाई किफायती मानिँदैन।

काठमाडौं- अर्थतन्त्रको दिगो विस्तारलाई धक्का पुग्नेगरी पुँजी निर्माण निरन्तर ओरालो लागिरहेको समयमा अर्कोतिर भने स्रोतको सुविधा लगातार दोस्रो वर्ष बचतमा गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्ष पछिल्लो ६ वर्षपछि बचतमा गएको थियो भने यो वर्ष पनि बचतकै निरन्तरता हुने अनुमान गरिएको छ।

२०७३/७४ देखिन निरन्तर ऋणात्मक रहेको स्रोतको सुविधा (कुल लगानीको आवश्यकता र बचतबीचको अन्तर) बचतमा गएको छ। कुनै पनि देशको कुल बचत र लगानीबीचको अन्तर बचतमा जानु भनेको लगानीका लागि आन्तरिक स्रोत नै पर्याप्त रहेको वा स्रोतको परिचालन पर्याप्त नभएको देखाउँछ।

पुँजी निर्माण तीव्र हुँदा यस्तो सुविधा ऋणात्मक थियो। अर्थात् राष्ट्रिय कुल बचतको तुलनामा लगानी धेरै भएको थियो। यस्तो हुँदा स्रोत अन्तर वा सुविधा ऋणात्मक हुन्छ। तर गएको वर्ष भने बचतमा गएको थियो जसले यो वर्ष निरन्तरता पाउने भएको छ। देशभित्र उपलब्ध बचत जति पनि लगानी नभएको भन्ने देखाउँछ। यस्तो अर्थतन्त्रलाई किफायती मानिँदैन।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष जीडीपीको ५.२० प्रतिशतले बचतमा हुने अनुमान गरेको छ जुन गत वर्ष ३.८८ प्रतिशतले बचतमा थियो।

स्रोतको बचत बढ्नुका पछाडि रेमिट्यान्समा निरन्तर सुधार भएको र उपभोगमा पनि सीमान्त वृद्धिदरमै सीमित भएको छ। तथ्यांकअनुसार यो वर्ष कुल राष्ट्रिय बचत जीडीपीको ३६.२४ प्रतिशत हुने अनुमान गरिएको छ। यो बचत पछिल्लो तीन वर्षदेखि निरन्तर बढिरहेको छ।

बचतमा उच्च सुधार हुने उपभोग र पुँजी निर्माणमा सोही अनुपातमा वृद्धि नहुँदा स्रोतको उपलब्धता बढ्दै गएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार पछिल्लो ६ वर्षदेखि स्थिर पुँजी निर्माण ओरालो लागेको छ। कुल गार्हस्थ उत्पादनको तुलनामा स्थिर पुँजी निर्माणमा हुने लगानी आर्थिक वर्ष २०७६/७७ देखि निरन्तर ओरालो लागेको छ।

२०७५/७६ मा कुल गार्हस्थ उत्पादनको ३३.८२ प्रतिशत स्थिर पुँजी निर्माणमा लगानी भएको थियो। तर त्यसपछिका वर्ष यस्तो लगानीको अंश निरन्तर घट्दै आएर यो वर्ष २४.०७ प्रतिशतमा सीमित हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ।

राजनीतिक नेतृत्व नियमित प्रणालीगत सुधारको पर्खाइमा हुने  र प्रणाली आफै सुदृढ नभएपछि स्रोत थुप्रिँदै जाने अर्कोतिर लगानी नभएर अर्थतन्त्र नै स्थिर अवस्थामा रहने जोखिम बढेको छ। 


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend